१५ शहरका विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोरोना संक्रमण फैलिएका १५ जिल्लामा सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको छ । ति जिल्लाका शहरी क्षेत्रका विद्यालय एक महीना बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्लाई सिफारिश गरेको हो । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावितको सूचिमा राखेको थियो ।

काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङका १५ शहरका विद्यालय बन्द गराउन सीसीएमसीले मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । अब बस्ने मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसमा अन्तिम निर्णय गर्ने भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले सबै विद्यालय बन्द गराउन सिफारिस गरेपनि कार्यान्वयन भएको थिएन ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाभाइरसको जोखिम बढेको निष्कर्ष निकालेको छ । महामारीबाट जोगाउन वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिश गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले बताइन् । सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने शहरहरूको विषयमा पनि छलफल गरेको छ ।

काठमाडौं उपत्यकासहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो । गत वर्ष सबै क्षेत्रका विद्यालय बन्द गरिएको थियो । जसले कोरोनाको जोखिम नभएका क्षेत्रका विद्यार्थीको पनि पढाइ प्रभावित भएको थियो । त्यसैले यस वर्ष अति जोखिम भएका क्षेत्रका विद्यालयमा मात्रै बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिश गरिएको सीसीएमसीले जनाएको छ ।

पहिलो चरणमा १५ शहरहरू सूचिकृत गरिएको छ । शिक्षा मन्त्रालयले शुक्रबार नै अति प्रभावित सूचिमा रहेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन अनुरोध गरेको थियो । त्यस्तै, स्थानीय सरकारलाई जिल्ला विपद् व्यवथापन समितिको समन्वयमा मात्रै पठनपाठन गर्न अपिल गरेको थियो ।

सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि कुन क्षेत्र कसरी सन्चालन गर्ने र कहाँ बन्द गर्ने भन्ने निर्णय मन्त्रिपरिषद बैठकबाटै हुने पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिए । ‘२२-२३ वटा प्रस्तावहरु आएका छन् ।

सबै विषयमा छलफल भएको छ र शहरी क्षेत्रका विद्यालय विशेषगरि नयाँ भेरियन्ट देखिएका ठाउँमा वैकल्पिक विधिबाट पठनपाठन सन्चालन गर्नुपर्छ भनेर सिफारिस भएको छ । कहिलेदेखि कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय क्याबिनेटबाट हुन्छ’, उनले भने । रात्रीकालिन व्यवसायहरुमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागु भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ ।

संक्रमणको दायर हेरेर कतिपय क्षेत्र बन्द गर्नुपर्ने हुनसक्ने बैठकका एक सहभागीले बताए । रात्रीकालिन व्यवसायका लागि अलग्गै मापदण्ड समेत बनाइने भएको छ । यस्तै, बैठकले पार्टी,सभा, समारोह तथा गोष्ठी र भेलालाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । सवारी साधान, कार्यालय, सार्वजनिक स्थानहरुमा कडा रुपमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गराउन पनि सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया