खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्याएका हुन् ।
साविकको चिसापानी–१ का कोइराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका थिए । लामो समयसम्म बेपत्ता भएपछि परिवारले माया मारिसकेका विज्ञानको आमा देवकुमारी, भाइ सुवास र कान्छी बहिनी तुलसासँग भेट भएको छ ।
विसं २०५८ मा १७ वर्षको उमेरमा काठमाडौंको सानेपाबाट बेपत्ता भएका विज्ञान १९ वर्षपछि आफ्नो घर फर्किएर आउँदा कोइराला परिवारमा खुशी छाएको छ । लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाइ र बहिनीलाई समेत ठम्याउन नसकेको बताइएको छ ।
बाल्यकालमा भाइबहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाइबहिनी सानै रहेको बताउने गरेका छन् । परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले यसअघि नै बितिसकेकी मावली हजुरमुमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन् । शारीरिकरुपमा मात्र नभई मानसिकरुपमा समेत रोगी देखिएका विज्ञान सशस्त्र द्वन्द्वको समयमा भारत जाने भन्दै घर छाडेर हिँडेका थिए ।
तर, उनी भारत नगइ काठमाडौं पुगेको खुलेको भाइ सुवासले बताए । ‘दाजुको भनाइमा उहाँ सानेपाबाट अपहरणमा पर्नुभएको रहेछ, गाडीमा आएका दुई महिला र एक पुरुषले उहाँलाई कम्बलले अनुहार छोपेर बेहोस बनाएपछि बन्द कोठामा पुर्याएका रहेछन्’, दाजुको भनाइ उद्धृत गर्दै उनले भने, ‘जुन कोठाबाट बाहिरिन उनलाई दुई दशक लाग्यो, कोठामा बन्धक बनाइएको अवस्थामा चरम श्रम तथा यौन शोषण गरेको, यातना दिएको दाजुले बताउने गर्नुभएको छ, उहाँको पेट र खुट्टामा लागेको चोटको खाटा अहिले पनि देखिन्छ ।’
शारीरिकरुपमा कमजोर देखिने विज्ञानको फियो भेरी अञ्चल अस्पतालमा उपचार गर्दा निकालिएको पुष्टि भएको भाइ सुवासले बताए । उनको वीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि रु सात लाख खर्च लाग्ने बताइएको छ ।
गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्धार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो । निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाच गराएपछि प्रहरी र पत्रकारको रोहबरमा आफन्तको जिम्मा लगाएको हो ।
विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो । बेपत्ता बनेका विज्ञान र भाइ सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो । १९ वर्षसम्म घर बाहिर निस्कन नदिई बन्धक बनाइएका विज्ञानलाई चैत १८ गते राति सुतेको बेला बेहोस पारेर काठमाडौंको बल्खु आसपासको जङ्गलमा छाडिएको बताइएको छ ।
विज्ञानलाई अपहरण गरेको र बन्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै रहेको भाइ सुवासले बताए । विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अभियान शुरु गरिएको नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिकाका उपाध्यक्ष बाजिन्द्र विष्टले बताए ।
प्रतिक्रिया