राजनीतिबाट विश्राम लिँदै वरिष्ठ नेता पौडेल !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रीय राजनीतिबाट अलग हुने संकेत आफ्ना निकटस्थहरुलाई दिएका छन् । गत सोमबार आफ्ना ७७ वर्षीय भाई गोविन्दराज पौडेलको निधन पछि तत्काल रत्ननगर चितवन पुगेका वरिष्ठ नेता पौडेलले आफन्तसँगको कुराकानीका क्रममा सक्रीय राजनीतिबाट आफूले विश्राम लिन चाहेका बताएका थिए ।

१६ वर्षको उमेरमा २०१४ सालदेखि वामपन्थी विद्यार्थी संगठनमार्फत राजनीतिमा सक्रीय पौडेल २०१७ सालको घटनापछि नेपाली कांग्रेसको राजनीतिमा समाहित भएका हुन् । करिव ६५ वर्ष लामो राजनीतिक जीवनमा पौडेल पटक–पटक गरी १४ वर्ष जेल र ६ वर्ष निर्वासनमा बसेका छन् । २०४८ देखि २०७४ सम्म लगातार २६ वर्ष सांसद रहेका पौडेलले पटक–पटक गरी करिव १६ वर्ष उपप्रधानमन्त्री र मन्त्री, पाँच वर्ष सभामुख, चार वर्ष प्रमुख प्रतिपक्षी नेताका रुपमा जिम्मेवारी निर्वाह गरे ।

नेपालको लोकतान्त्रिक इतिहासमा लगातार यति लामो अवधीसम्म लाभको पदमा रहने राजनीतिकर्मी पौडेल बाहेक सायदै अरु होलान् । कांग्रेस सत्तामा रहँदा मन्त्री तथा उपप्रधानमन्त्री र कांग्रेस विपक्षमा रहँदा सभामुख र संसदीयदलको नेता बन्ने अवसर पौडेलले पाइरहे । तर, गत १३ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि र २०७४ सालमा सम्पन्न आमनिर्वाचनमा सांसद पदमा भारी मत अन्तरले पराजित भएपछि पौडेल निरास हुन थालेका हुन् ।

यतिबेला सांसदसमेत नरहेका पौडेल केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गरी कांग्रेस भित्रका आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा जुटेका छन् । सत्ता समिकरण परिवर्तनलाई भन्दा पार्टीको १४औँ महाधिवेशनलाई प्राथमिकता दिनुपर्ने अडानमा सभापति देउवा छन् । तर, पौडल सत्ता समिकरण परिवर्तनलाई नै प्राथमिकता दिनुपर्ने अडानमा छन् ।

यही अडानका कारण गत शुक्रबार सार्वजनिक कार्यक्रममै सभापति देउवा र पौडल भनाभनमा उत्रँदै जाँदा लगभग हात हालाहालको अवस्थामा पुगे । उपसभापति विमलेन्द्र निधिले हस्तक्षेप नगरेको भए पौडेलले देउवालाई लोप्पा खुवाउन हात अघि बढाईसकेका थिए । पौडेलको हातले लोप्पा खुवाउन भ्याएको भए सभापति देउवा पनि हात बाँधेर बस्ने अवस्था थिएन ।

कांग्रेसका समकालिन नेताहरुको तुलनामा शान्त स्वभावका पौडेल ८० वर्षको उमेरमा किन यतिधेरै आक्रोसित बन्दैछन् ? प्रतिनिधिसभाको अंकगणित नै कांग्रेसका लागि प्रतिकुल भएको अवस्थामा किन सरकार गठनको कुरा गर्दैछन् ? भन्ने रहस्य पौडेलका समर्थकहरुले पनि बुझ्न सकेका छैनन् ।

गत शुक्रबार देउवासँगको भनाभान पछि पौडेल निवास पुगेका एक कार्यकर्ताले पौडेललाई सोधेका थिए, ‘यतिबेला देउवा प्रधानमन्त्री बने भने आगामी भदौमा हुने १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्न तपाइँले सक्नु हुन्छ ?’ तर यो प्रश्न पछि पौडेल आगो भए । उनले प्रतिक्रिया दिए, ‘मुलुक प्रतिमगन तिर अघि बढेको थाहा नपाउनेहरुले यस्तै खोचेथापा प्रश्न गर्छन् ।’

पौडेल निकटस्थहरुका अनुसार केही महिना अघि तनहुँमा पुल उद्घाटन गर्न जाँदा स्थानीय प्रशासनले गरेको गिरफ्तारीपछि वरिष्ठ नेता पौडेल प्रधानमन्त्री ओलीविरुद्ध निकै आक्रोसित भएका थिए । त्यसमाथि केही महिनादेखि पौडेलको निवासबाट करिव एक दर्जन सुरक्षाकर्मी सरकारले फिर्ता गरेको छ । उनको निवासमा १६ जना प्रहरी रहने गरेकोमा अहिले चार जना मात्रै छन् । यसैगरी आफ्ना एक मात्रै छोरा चिन्तन पौडेल पारिवारिक द्वन्द्वका कारण घर छाडेकाले पनि वरिष्ठ नेता पौडेल मानिसक तनावमा रहेको निकटस्थहरु बताउँछन् ।

मधेसी दलले सत्ता समिकरण परिवर्तनको ‘च्याप्टर’ तत्कालका लागि ‘क्लोज’ गरिसकेको अहिलेको अवस्थामा एमालेले साथ दिने परिस्थितिमा बाहेक नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने संभावना छैन । एमालेले साथ दिने संभावना पनि तत्कालका लागि छैन । आगामी भदौभित्र १४औँ महाधिवेशन सम्पन्न गर्नुबाहेक नेपाली कांग्रेससँग अर्को विकल्प छैन ।

पार्टीगत मामिलामा समेत सर्वोच्च अदालत प्रवेश गरिसकेको अवस्थामा नेपाली कांग्रेसले आगामी भदौ २३ गतेभित्र महाधिवेशन सम्पन्न गरेन भने पार्टीको दर्ता नै खारेज हुन्छ । यो यर्थाथताप्रति कांग्रेसको पार्टी पंक्ति भलिभाँती जानकार छ, वरिष्ठ नेता पौडेल जानकार नहुने प्रश्नै उठ्दैन । सक्रीय राजनीतिबाट विश्राम लिने रणनीतिअन्तर्गत पौडेलले यस्ता गतिविधि गर्न थालेको अनुमान कांग्रेसका विश्लेषकहरुले गरेका छन् ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई अपवाद मान्दा नेपाली कांग्रेसका प्राय सबै शीर्ष नेताहरुले ८० वर्ष उमेर नाघेपछि सक्रीय राजनीतिबाट सन्यास लिएका छन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधि त ८० वर्ष उमेर नाघेपछि नेपाली कांग्रेसबाटै अलग भएका थिए ।

प्रतिक्रिया