आफ्नै भवन बनाउँदै मानव सेवा आश्रम

मोरङ । सहयोगापेक्षी सडक मानवहरूको बसोवासका लागि मानव सेवा आश्रमले विराटनगर महानगरपालिकामा आफ्नो भवन निर्माण गर्ने भएको छ । विराटनगर महानगरपालिका र मानव सेवा आश्रम प्रदेश–१ विराटनगर शाखाको नयाँ भवन निर्माण सम्बन्धमा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा विराटनगर–५ स्थित श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमले प्रदान गरेको ६ कठा जग्गामा अपांगमैत्री, पूर्ण वातावरणयुक्त भवन निमार्ण गर्न लागेको जनाएको छ ।

सो भवन २० करोडको लागतमा निर्माण गरिने जानकारी गराइयो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो एक वर्षका पारिश्रमिकको पाँच लाखको लागतमा एक कोठा भवन निर्माण गर्ने सहयोग गर्ने जानकारी दिँदै नगरका प्रवुद्धवर्ग, व्यापारी, उद्योगी एवं नागरिकहरूले भवन निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले आश्रमको महानगरका तीन स्थानमा वहालमा लिएको भवनका लागि वार्षिक ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

आश्रमका केन्द्रीय संयोजक रामजी अधिकारीले ०६९ सालदेखि सञ्चालित आश्रममा अहिले १ हजार ७ सय जना सहयोगापेक्षी रहेको जानकारी दिए । आश्रममा प्रदेश–१ का अभियन्ता नवराज केसी, नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष बन्धु पोखरेल लगायतले मानव सेवामा कार्य गर्नेलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका मोरङका नवनिर्वाचित अध्यक्ष सञ्जिव खनाल, सचिव नेत्र पि अधिकारी लगायतलाई वधाई एवं सम्मान गरिएको थियो । आश्रमको प्रदेश कार्यालय विराटनगरका तीन भवनमा अहिले २ सय ६ जना सहयोगापेक्षीले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया