अर्थतन्त्रको पुनरुत्थान मुख्य प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थतन्त्रको पुनरुत्थान नै सरकारको मुख्य प्राथमिकता भएको बताएका छन । विश्व बैंकले आयोजना गरेको नेपाल डेभलपमेन्ट अपडेट २०२१ सार्वजनिक गर्दे उनले त्यस्तो धारणा राखेका हुन । नेपालले गत वर्षदेखि नै कोभिड–१९ प्रभावित आर्थिक गतिविधिहरूलाई असरका आधारमा प्राथमिकीकरण गरी पुनरुत्थानका प्रोत्साहन तथा अन्य उपायहरू लागू गरेको उनको भनाई थियो ।

आफू निजी क्षेत्रसँग नजिक रहेर काम गरिरहेको भन्दै मन्त्री पौडेलले आर्थिक गतिविधि पुनरुत्थानका लागि निजी क्षेत्र र सरोकारवालाका सुझावलाई गम्भीरताका साथ लिएको बताए । उनले कोभिडको प्रभावलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई थप गतिशिल बनाउन निजी क्षेत्र तथा विकास साझेदारहरु समेतको सहभागितामा अर्थ सचिवको संयोजकत्वमा आर्थिक पुनर्संरचना, पुनरुत्थान तथा उत्थानशील सम्बन्धी परामर्श समितिले काम गरिरहेको पनि बताए ।

तर उनले विश्व बैंकले कम आर्थिक बृद्धिको प्रक्षेपण गरेको पनि बताए । सरकारले गरेको प्रक्षेपणभन्दा कम विश्व बैंकले प्रक्षेपण गरेको उनको भनाई छ । नेपालको अर्थतन्त्र लयमा फर्किन सुरु भएको भन्दै उनले बैंकको प्रतिवेदनले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गरेको धारणा राखेका थिए । तर, बैंकले गरेको आर्थिक बृद्धिको प्रक्षेपण भने थोरै रहेको उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटको तयारीमा सरकार रहेको भन्दै प्रतिवेदनमा समावेश गरिएको सुझावलाई ध्यान दिइने बताए । मन्त्री पौडेलले आगामी बजेट कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई उकास्न केन्द्रित हुनेमा पनि जोड दिए । पछिल्लो राजनीतिक गतिविधिका कारण अर्थतन्त्र प्रभावित हुन सक्ने विश्व बैंकको आशंका प्रति मन्त्री पौडेलले त्यस्तो शंका नगर्न पनि भनेका छन ।

विश्व बैंकका नेपाल निर्देशक फारिस हदाद जारर्भोजले नेपालको हरित, भरपर्दो र समावेशी विकासलाई समर्थन गर्न सरकारले योजनाबद्ध सुधारहरुलाई स्वागत गर्ने बताए । उनले भने,‘हामी यस प्रयास अझ विशेष गरी दिगो र भरपर्दो पुनरुत्थानलाई सहयोग पुर्याउन नेपालको निर्यात सम्भाव्यतालाई हासिल गर्न सहयोग पुग्ने लगानीका लागि सरकार र विकास साझेदारहरूसँग निरन्तर सहकार्यको लागि तत्पर छौं ’ ।

बैंकले सन् २०२१ मा नेपालको अर्थतन्त्र २ दशलमव ७ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरेको थियो । पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा बैंकको छ । प्रकोप पछिको पुुनःउत्थानलाई तिव्रता दिन र नेपाललाई हरित, भरपर्दो र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो प्लेटफर्म हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

नेपाली अर्थतन्त्रमा रेमिटेन्सले ठूलो सहयोग गरेको उनले बताए । कोभिड असरलाई न्यूनीकरण गर्न सरकारले सीमित घेरामा बसेर राहत कार्यक्रम ल्याए पनि त्यसले राम्रो काम गरेको उनको भनाई थियो । त्यसैगरी उक्त प्रतिवेदनमा नेपालसँग ९ अर्ब अमेरिकी डलर बराबरको निर्यात सम्भावना उपयोग नै हुन नसकेको उल्लेख गरिएको छ ।

व्यापार पूर्वाधारमा सुधार, भन्सारजन्य र गैर–भन्सारजन्य अवरोध न्यूनीकरणबाट नेपालले निर्यात बढाउन सक्ने बताइएको छ । निर्यात प्रवद्र्धनका लागि आवश्यक मध्यवर्ती कच्चा वस्तुको आयातमा समेत अवरोध गर्दै विश्व बैंकले कोभिड–१९ ले शिथिल अर्थतन्त्रलाई गति दिन उत्पादन र रोजगारीको अवस्थामा सुधार गर्दै निर्यात बढाउन सिफारिश गरिएका सुझावहरू लागू गर्न सक्ने बताएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालले निर्यात विस्तार गर्ने पक्षलाई उत्पादन, आपूर्ति श्रृंखला, प्रतिस्पर्धी उत्पादन लागत लगायत अन्य सुधारहरूलाई समग्रमा एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए । उनले उत्पादन, आपूर्ति श्रृंखला र निर्यात विस्तारमा प्रविधि परिचालन (लेभरेज) गर्ने क्रमलाई प्राथमिकता दिएको भन्दै यसको उच्चतम प्रयोग गर्न सरकारले कानुनी र संस्थागत पूर्वाधार तयार गर्दै लगेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाली अर्थतन्त्र ’यु’ सेपमा सुधार भएको बताएका थिए । उनले आगमी वर्ष नेपालले दोहोरो अंकको वृद्धि हासिल गर्ने बताए । ’कोभिड प्रभावमा ९५ प्रतिशत उद्योग बन्द रहेको र त्यसे अवस्थामा पनि नेपालमा महत्वपूर्ण वस्तु तथा सेवाको आर्थिक क्रियाकलाप जारी नै राखेको उनको भनाइ थियो ।

प्रतिक्रिया