समाजवादका नाममा जालझेल !

          टंक कार्की

नेपालको वर्तमान राजनीति त्यसमा पनि कम्युनिस्ट पार्टीभित्र देखिएको भद्रगोल अवस्थाले विश्व कम्युनिस्ट आन्दोलनमा भएका उचार चढावका कैयौँ घटना अध्ययन गर्नु मननयोग्य देखिन्छ । खास गरी युरोपमा भएका कम्युनिस्ट आन्दोलन र त्यसका नायकहरूका विचार, दृष्टिकोण, कार्यशैली, दर्शन र व्यवहार नेपालको कम्युनिस्ट आन्दोलनमा बेलाबेला चर्चा र उदाहरणका विषय बन्ने गरेको छ । यति बेला भने छँदाखाँदाको दुईतिहाइमा रहेको कम्युनिस्ट पार्टीको सरकारका काम र पार्टीभित्र देखिएका कैयौँ घटनाले ती दिनहरू फेरी सम्झनालायक बनाएको छ ।

राजनीतिमा सामाजिक मिसन र निजात्मक स्वार्थ, सज्जन र दुर्जन, निष्ठा र ढोंग, इमान र जालझेल बीचको छ्यासमिसको इतिहास धेरै पुरानो छ्र । यो पूर्वी युरोप र अन्य मुलुकका जनाले भोगे र त्यहाँका कम्युनिस्ट नेताहरूले झेले (सन्त र किच्चकहरूलाई पनि समाजले बेहोरेको छ्र) यी दुई प्रवृत्ति बीचको रस्साकसी अनवरत रूपमा आज पनि चलिरहेको छ । त्यसमा सधैँभरि सज्जन, निष्ठावान र इमानीको मात्रै वर्चश्व रहेको होइन । बुद्धकै संघमा देवदत्तजस्तो महत्वाकांक्षी र छुल्याहा पनि थियो ।

त्यहाँ पनि स्वार्थ पूरा गर्ने र अरूका बारेमा मात्रै सोच्ने पनि थिए । समाजवादी आन्दोलनमा पनि स्वयं यसका श्रष्ठाहरू यस प्रवृत्तिका भुक्तभोगी थिए र छन् । उनीहरू स्वयंले के भोगे, उनीहरू के चाहन्थे र राजनीतिमा कस्तो मूल्यको पक्षपोषण गर्थे ? भनेर जान्नलाई तल केही प्रतिनिधि घटना उल्लेख गरिएको छ । जो आजको नेपालको राजनीतिमा कहि कतै मेल खाइरहेको छ ।

कार्ल माक्र्सले आफ्ना एक जना अनन्य मित्र विल्हेम ब्लसलाई लेखेको पत्रमा भनेका थिए, ‘मलाई कुनै दुराकांक्षा छैन, न त एंगेल्समा नै त्यस्तो कुरा छ । हामी दुवैमा लोकप्रियताको निम्ति परालको त्यान्द्रो जति नि प्रवाह छैन । ऊ बेला नै व्यक्ति पूजा बारे ममा यति घृणा थियो कि मैले (आफूलाई सार्वजनिक प्रशस्ति गाउने कुरालाई सार्वजनिक प्रचारप्रसारको क्षेत्रमा आउनै दिइन । ‘एंगेल्स र मैले गुप्त कम्मुनिस्ट समाज (कम्मुनिस्ट लिग) मा भर्ती हुँदा पनि एउटा शर्त भित्रै मात्र स्वीकारेका थियौं, ‘प्राधिकार माथिको अन्धविस्वासलाई मलजल गर्ने कुनै पनि प्रावधान बिधानबाट हटाउने । (पछि लासाल भने उल्टो बाटो हिँडे)’

एंगेल्सले कम्युनिस्ट लिगका अन्य दुई जना पात्रको चरित्र चित्रण गरेका छन् । कार्ल ग्रुन र विल्हेम क्रिस्चियन वेट्लिंङ । कार्ल ग्रुनको वारेमा एंगेल्स को मूल्यांकन थियो, ‘समाजवादका नाममा जालझेल गर्नेहरूका प्रमुख र प्रतिष्ठित प्रतिनिधि कार्ल ग्रुन हुन् ।’ आजको नेपाली राजनीतिमा पनि त्यो कुराले कति पय ठाउँमा स्थान पाएको भान हुन्छ ।

उति बेलाको कम्युनिस्ट लिगमा विल्हेम क्रिस्चियन वेट्लिङ्ग (सन १८०८–१८७१ मा) नाम गरेका जर्मनीका एकजना सिधा साधा घुमक्कड कालिगड पनि थिए । समय बित्दै जाँदा उनले आफैँलाई लरतरो मानिस ठान्न छोडे । उनी अव पहिलाको जस्तोे सिधासाधा कालिगड मात्रै रहेनन् पनि । उनी आफ्नो प्रतिभाबाट अरूभन्दा बढी आफैँ आश्चर्यचकित हुन थाले ।

आफूलाई उनी यस्तो ठान्थे, मानौँ उनको खल्तीमा धर्तीलाई स्वर्ग बनाउने नुस्खा छ र सारा दुनियाँ त्यो हात पार्न तँछाडमछाड गरिरहेको छ । सारा मान्छे एकातिर र उनी एक्लै सर्वशक्तिकमान भएका छन् भन्ने ठान्थे । अब उनलाई कम्युनिस्ट समाज कस्तो हुनुपर्छ भन्ने कुरा त चानचुने कुरा लाग्न थाल्यो । समाजलाई कामले होइन छुट्टै ढंगले अगाडि बडाउने कुलता उनमा मत्रै छ भन्ने ठान्न थाले ।

हुँदा हुँदा उनी केसम्म ठान्न पुगे भने, उनमा यति धेरै विद्वता छ कि त्यो देखेर डाह गर्नेहरू उनको खेदो खन्दै छन् । उनको प्रगतिमा मान्छे त्यसैत्यसै जल्दै छन् । उनको वरिपरि चारै तिरबाट उनका वैरीहरू उनलाई जसरी भए पनि फंदामा पार्न जिउज्यान छोडेर लागेका छन् भन्ने उनलाई लाग्थ्यो । लण्डनमा लिगका सबै जसो सदस्यसँग उनको रडाको भइसकेको थियो ।

ब्रसेल्समा माक्र्स र जेनीले भने उनको खातिरदारीमा असाधारण मानवीय सहिष्णुताको उदाहरण पेस गर्नु भएको थियो । तर त्यहाँ उनको कसैसँग ठ्याक मिलेन । अन्ततः उनी पैगम्बर बनेर आफ्नो भाग्य अजमाउन अमेरिका तिर छिरे । उनी कुनै चमत्कारी होइन भ्रममा अरूलाई भ्रम सिर्जना गर्ने मात्रै पैगम्वर थिए र वास्तविकतामा नआइ सुकै भएन ।

स्टालिनलाई व्यक्ति पुजाको आरोप लाग्ने गथ्र्यो । कति पयले उनकाबारेमा आज पनि त्यही भन्छन् । तै पनि उनी आफैँ के सोच्थे ? यस बारे एच जी वेल्सले स्टालिनसँग लिएको अन्तरवार्ताको निम्न अंशले पर्याप्त प्रकाश पार्दछ । साच्चै उनी व्यक्ति पुजा गर्थे वा त्यास्तो थिएन भन्ने । ‘स्टालिनभन्थें, ‘दुनियाँको रुपान्तरण भनेको एक महान, जटिल र कष्टप्रद प्रक्रिया हो । यो काम फत्ते गर्न एक महान वर्गको आवश्यकता हुन्छ । लामो सामुद्रिक यात्रामा ठुला जहाज चाहिन्छन् ।’ उनको यो अभिव्यक्तिले धेरै कुराको संकेत गर्दछ ।

उनको भनाइमा एच जी वेल्सले सोधेका थिए, लामो सामुद्रिक यात्राको निम्ति क्याप्टेन र नाभिक त चाहिन्छ नि ! उनको प्रश्नमा स्टालिनले भनेका थिए, ‘कुरो ठीक हो, तर लामो सामुद्रिक यात्राको निम्ति प्रथमतः ठुलो जहाज नै चाहिन्छ । जहाज बिनाको क्याप्टेन वा नाभिकको के प्रयोजन छ र ? फगत निकम्मा । उनको अभिव्यक्ति प्रष्ठ थियो पहिला सुरक्षित र भरपर्दो जहाज तयार हुन पर्यो अनी त्यसलाई निश्चित गन्तव्यसम्म पु¥याउने इमान्दार र कुशल क्याप्टेन, नाभिक । जब जहाज विना क्याप्टेन र नाभिक मात्रै तयार गरीन्छ उस्ले गन्तव्य कहाँ हो कसरी पत्तो पाउने ?

वास्तवमा समाजवादको नारा जति सुन्दर छ त्यसलाई व्यवहारमा पुर्याउन र लागू गर्न उत्तिकै चुनौती छ । नेपालमा भने समाजवाद र समृद्धिका नाममा धेरै जालझेल भएका छन् । यसमा कम्युनिस्ट पार्टीकै नाममा नेतृत्वमा रहेका व्यक्तिबाट जारी कुरा हुँदै आएको छ बिचार र सिद्धान्तले भन्दा जाली र उट्पटंयाक कुरा बढी हाबी भएको छ । हो यस्तै यस्तै बेला हिजो इतिहास बढन र बुझ्नपर्छ । (कार्कीको फेसबुकबाट)

प्रतिक्रिया