छोरीको सम्झनामा प्रवासबाटै ज्योतीको ‘मुटुको टुक्रा’

काठमाडौं । ‘रुँदै हौली मेरी छोरी मम्मी सम्झिएर, सम्झिएरै रोएकी छु मनी यतिखेर, भुरुरुरु उडी आउथेँ चरी हुन पाए, मेरो नानी काखमै राखी तिम्लाई छुन पाए, सपना गर्नु छ पूरा ए मेरो मुटुको टुकुरा’

एक प्रवासी आमाले स्वदेशमा भएका आफूले जन्माएका छोरीहरुको सम्झनामा विदेशबाटै लेखेका वियोगान्त गीतको शब्द हो यो । स्याङ्जा जिल्ला घर भएकी गीतकार ज्योती गुरुङ केही वर्षदेखि युकेमा रहँदै आएकी छन् । रोजगारीको सिलसिलामा बाध्यात्मक परिस्थितीले कलिला दुई छोरीहरुलाई नेपालमै छाडेर गएपछि गीतकार गुरुङले विदेशबाटै उनै छोरीहरुको सम्झनामा उपहार स्वरुप यस्तै शब्दमा ‘मुटुको टुक्रा’ बोलको गीत बजारमा ल्याएकी हुन् ।

जुन गीतमा लोकदोहोरी गायिका देवी घर्तीमगरले एकल आवाज दिएकी छन् । बाध्यात्मक परिस्थितीले विदेशीनुको पीडा र त्यहाँका विभिन्न भोगाइ गीतको शब्दमा समावेश छ । सुरज लामीछानेले उक्त गीतमा संगीत भरेका हुन् ।

‘पराइको देशमा तिम्रो भविष्यको लागि रातदिन खटेकी छ यो आमा अभागी, निदाउनै गाह्रो हुन्छ तिम्लाई सम्झिएर, भोकै छौकी खायौ होला तिम्ले यतिखेर, सपना गर्नु छ पूरा ए मेरो मुटुको टुकुरा’

यस्ता भावनात्मक शब्दले पक्कै पनि नेपालमा घर परिवारसँग छुट्टिएर विदेश जान बाध्य भएका नारीहरुको मन चसक्क पोल्छ भन्ने अड्कल गर्न सकिन्छ । ज्यान विदेशमै भए पनि आफ्नो मन भने देश नेपाल र उनै लालाबाला छोरीहरुको सम्झनामा तड्पिएको गीतकार गुरुङ बताउँछिन् । उक्त गीतको भिडियो पनि युकेमै छायांकन गरिएको गुरुङले जानकारी दिइन् ।

कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा गीतकार गुरुङले नै अभिनय गरेकी छन् । उनको साथमा सानी बालीका काव्या श्रेष्ठको पनि अभिनय रहेको छ भने अंशीका थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र एवा सिंह ठकुरी पनि देखिएका छन् । घरमा छोरीहरुले आमाको बाटो हेरिरहेको तर आफू भने स्वदेश फर्किने सोच हुँदा पनि सोचेको समयमा फर्किन मेसो नमिल्दा न्यास्रो लागेको ज्योतीले सुनाइन् ।

‘छोरीहरुले फोनमा मम्मी कहिले आउनुहुन्छ भनेर सोध्छन्, त्यो बोली सुन्ने बित्तिक्कै घर फर्किने सपनाले मन पोल्न थाल्छ,’ उनले भनिन् । अब भने उनले छिट्टै नेपाल फर्किने तयारीमा लागेको बताइन् ।

विदेशी भूमिमा रातदिन देशको नक्सा, झण्डा र छोरीहरुको तस्विर हेरेरै बितेको गीतकार गुरुङ सुनाउँछिन् । केही समय अगाडि ‘यो कस्तो माया’ बोलको गीत ल्याएकी गीतकार गुरुङले पछिल्लो यस ‘मुटुको टुक्रा’ भने दोस्रो कोसेली गीत ल्याएकी हुन् । उक्त गीतको भिडियो उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया