माथिल्लो तामाकोशी : तीन सातापछि सुरुङमा पानी हालिने

काठमाडाैं । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोना र केही प्राविधिक जटिलताका कारण आयोजनाको काममा ढिलाइ भएको हो । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाखको दोस्रो साताभित्रमा सम्पन्न गर्ने लट–२ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ । मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्र्याउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायतका सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

बाँकी रहेका काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न शुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका छ÷छ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।

सोही क्रममा पहिलो युनिटबाट २०७८ वैशाख मसान्तसम्म विद्युत् उत्पादन शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले जानकारी दिए । ‘भूकम्प, बाढीपहिरो, कोरोना कहर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन शुरु गर्न सक्ने अवस्थामा पु¥याएका छौँ, निर्धारित तालिकाभन्दा अगावै विद्युत् उत्पादन हुने गरी बाँकी रहेका काम समानान्तररुपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ’, उनले भने । चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन गरिनेछ । आयोजनामा ७६÷७६ मेगावाटका छ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमश ः विद्युत् उत्पादन हुनेछ ।

प्रतिक्रिया