सरकारबाट बाहिरिए गण्डकी प्रदेशका २ मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका दुई मन्त्रीले राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रकातर्फबाट गण्डकी प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले अब राजीनामा दिएका हुन् ।

बुधबार बिहान बसेको माओवादी केन्द्रको संसदीय दलले दुबै जनालाई मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिई समिकरणको प्रयास भएकोले माओवादी केन्द्रले दुई मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।

गण्डकी प्रदेशमा एमालेबाहेकको सरकार बनाउन अन्य सबै दलको गठबन्धन आवश्यक छ । गण्डकी प्रदेश सभामा रहेको कुल ६० सांसद मध्ये एमालेका २७, कांग्रेसका १५, माओवादी सभामुखसहित १२, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) छन् ।

प्रतिक्रिया