भारतीय ‘रअ’द्वारा परिचालित नेतृत्व

प्रा.डा. बद्रीविशाल पोखरेल

श्याम शरण मार्फत् रअले मिलाइ दिएको व्यवस्था अनुसार प्रचण्ड र बाबुरालाई भेटेर माधव नेपाल काडमाडौँ आएर सोझै प्रधान सेनापतिलाई भेटेर दबाव दिए । यस कुरालाई विवेक शाह,एसडी मुनि र कान्तिपुरमा प्रचण्ड निकट मानिने प्रधान सम्पादक सुधीर शर्माले स्पष्ट पारेको भट्टराईले उल्लेख गर्नु भएको छ । माओवादी निकट पत्रकार शुभशंकर कँडेलको पुस्तक अवतरण मा प्रचण्ड र बाबुरामले पनि भारतको त्यो संबन्धलाई स्वीकार गरेका छन् ।

भारत भन्नाले भारतीय जनता र भारतीय शासक बुझिन्छ । भारतीय र नेपाली जनता वीच परापूर्व कालदेखि सुमधूर र मित्रतापूर्ण सम्बन्ध रहिआएको छ र भोलि पनि रहनेछ । तर भारतीय शासक भने इस्टइण्डिया कम्पनी सरकार औपनिवेशी चरित्रलाई हुबहु आत्मसात् गरेको हुँदा नेपाल लगायत साना मुलुकप्रति हेलाहोचो गर्ने प्रवृत्ति कायम रहेको देखिन्छ । तर पनि आन्तरिक पक्ष नै अग्रगमन र प्रतिगमनको प्राथमिक कारण भएझैँ भारतीय शासकबाट नेपाल हेपिनुमा केही नेपाली नेता र शासक पहिलो दोषी हो । यस्तो तथ्यलाई बिर्सिएर भारतको मात्र एकोहोरो आलोचना गर्नु हुँदैन । तर यस्तो प्रवृत्ति पहिले झैँ अहिले पनि विद्यमान देखिन्छ ।

यही सिलसिलामा नेता प्रदीप नेपालले एक अनलाइन पत्रिकामा ‘हामी त तमासे मात्र भएका छौँ’ भन्ने शीर्षकमा एक लेख लेख्नु भएको छ । त्यसमा उहाँले प्रधानमन्त्री ओली विरुद्ध अराजनीतिक तथा अनैतिक विषयलाई आधार बनाएर लेख लेखेको पाइन्छ । लेखकले ओली विरोधी केही नेपाली नेता र शासकका केही गम्भीर कमजोरी खुट्याएर उल्लेख नै नगरी भारतीय शासकप्रति आलोचना बर्साउनु भएको छ । उहाँले दाहाल नेपाल लगायत केही कम्युनिस्ट नामधारी नेतालाई आधार बनाएर सबै जोगी कान चिरेका हुन्सम्म भन्न भ्याउनु भएको रहेछ । त्यही सन्दर्भमा उहाँले प्रधानमन्त्री ओली हारे पनि जिते पनि एउटै केन्द्र दिल्ली दरवारलाई नाफा हुँदोरहेछ, भन्नु खसीबाख्री एउटै धोक्री गर्नु बराबर हो । जसले बिराउँछ त्यसैलाई दण्डित गर्ने र खवरदारी गर्ने हो । काम कुरो एकातिर कुम्लो बोकेर ठिमिले यात्रा गर्न विज्ञलाई सहाउँदैन । नेता नेपालले संकेत गरेको विषयले भारतीय शासकको परोक्ष इसारा र सहयोगमा प्रधानमन्त्री ओलीविरुद्ध दाहाल नेपाल लागेको त स्पष्ट पारेकोछ, । प्रदीप नेपालले नेपालको पश्चिमी भूभाग नेपाली नक्सामा समावेश गरेको भोलिपल्ट ओली सरकारलाई अपदस्थ गर्न मरिमेटेर दाहाल नेपाल लागेको देख्नु भएन । तैपनि उहाँले इतिहासले बेवारिसपारेका लिम्पियाधुरा त अहिले सम्म फिर्ता लिन सकेका छैनौँ भन्दै आफ्नू लेखमा उल्लेख गर्नु भएको पाइयो ।

पहिलो कुरा त उपर्युक्त विषयमा सबै नेपाली एकताबद्ध हुँदा पनि अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउन समय लाग्छ । अर्को केही बाम नेता नै यस्ता सबालमा भारतीय शासकको अनकूल वा कन्फर्टेवल सरकार बनाउन मरिमेटेर लागि परेपछि नेता नेपालले भनेझैँ फिर्ता ल्याउन ज्यादै गाह्रो हुन्छ । यस्तो विषय उहाँ किन उल्लेख गर्न सक्नु हुन्न ? विरोधी वा विपक्षीले घरका आँगनमा आएर ठाडो चुनौति दिइरहेका बेला माधव नेपाल जस्ता नेताहरु अनेक बहानामा घरभाँड्न उद्यत हुन्छन् भने यस्तो अत्यन्त अराजक र अनैतिक गतिविधि भारतको भाजपा भन्ने पार्टीमा पनि हुँदैन । त्यसैले नामको कम्युनिस्ट भएर मात्र हुन्छ कि तदनुसार कर्म पनि गर्नुपर्छ । जननेता मदन भण्डारीले कम्य्ुनिस्ट पार्टीको झण्डाका भरमा कसैलाई पनि कम्युनिष्ट पार्टी र त्यसको नेता भन्न सकिन्न भन्नु भएको छ । वास्तविक रुपमा कर्म नै उसको सही परिचय हो ।

जबजब नेपाल आन्तरिक विवादमा फस्छ वा फसाइन्छ तबतब भारतीय शासक नेपालको दक्षिणी भूभाग अतिक्रमण गर्ने काममा लागि पर्छ । देशको मिचिएको भूभाग फिर्ता ल्याउन पहल गर्ने ओली सरकार विरुद्ध ज्यान फालेर लाग्नेहरु माथि बेलैमा नबोल्दा लेखमा उल्लेख गरेझैँ नेपाल सित अब रमिते बन्नु बाहेक अरु उपाय देखिँदैन । सच्चा नेता त ग्यालिलियो जस्तो हुन्छ र हुनुपर्छ । दूरदर्शी नेता सत्यवादी, नेता सही कुरामा बेलैमा अडान राख्तछ र त्यसलाई कार्यान्वय गराउँछ । बेलाको बोली र मौकाको काम मात्र कामयावी हुन्छ तर मौकामा रमिते बनेपछि कुरो बिग्रन्छ । नेता नेपालबाट भएको गल्ती नै यही हो ।

नेपालज्यू, तपाईंले लेखमा जो सुकै प्रधानमन्त्री बनून् ( वा ओली नै बनून् भन्ने आशय प्रदीप नेपालको रहेको छ ) तिनले भारतको घेरा चिरेर जानसक्तैनन् भनेर ओलीले भारतीयले गरेको नाकाबन्दी विरुद्ध लिएको चट्टानी अडान यति छिटै बिर्सिएको हो ? यही अवसरमा ओलीले भारतीय शासकलाई समेत आश्चर्य चकित पर्ने गरी चीनसित वाणिज्य र पारवहन सम्झौता गरेको बिर्सिएर बैगुनी बन्न खोजेको हो ? दोधारे कुरा गरेर कार्यकर्ता र जनतालाई भ्रमित पार्नु हुन्न । नेता नेपालले दाहाल,नेपाल र खनालकै दर्जामा ओलीलाई राख्न खोजेको हो भने यो सरासर अन्याय र घोर अपमान हुन्छ । जननेता मदन भण्डारीको संगतले उच्च तहमा पुग्नु र आफ्नै बलबुतामा शीर्ष स्थानमा पुग्नुमा आकास जमिनको फरक हुन्छ । जबज भजाएर भोजन गर्नेहरु र जबजका लागि सम्पूर्ण त्याग गर्नेहरुलाई समान दर्जा दिनु जबजकै अपमान हो । हेर्नु होस् त माधव नेपाल आफैँ जबजको परोक्ष वा प्रत्यक्ष विरुद्धमा रहेका छन् भने उनका अघिपछि जबजको च्याप्टर क्लोज गर्ने र त्यसका मतियारको जत्था देखिन्छ ।

नेपालले लेखमा भारतले तराई मधेसका पार्टीहरुमा मात्र होइन अरु (नेका,एमाले माओवादी ) मा पनि हात हालेको छ त भन्नु भयो तर यस्तो संवेदनशील विषयमा माधव नेपाल विगत लामो समयदेखि भारतीय ‘रअ’बाट परिचालित भएको थाहा पाइपाइकन पनि प्रदीप नेपाल मौन बस्नुको रहस्य बुझिएन । नलेखिएको इतिहास पृ.१२३ र १२४ मा राधाकृष्ण मैनालीले ०४६ सालको फागुन २० र चैत्र २१ गते तत्कालीन माले पार्टीको केन्द्रीय समितिको बैठकमा विश्वस्त सूत्रको हवाला दिएर भारतीय सशस्त्र सहयोगमा गणतन्त्र ल्याउन दवाव दिने माधव नेपाल भविष्यमा यस देशको स्वतन्त्रता, स्वाधीनता र सार्वभौम सत्ता विरुद्ध कति खतरा हुन्छ भन्ने अति सामान्य कुरा तपाईले पनि बुझ्नु पर्ने हो । यस मामलामा त यो लेखक मदन भण्डारीलाई पनि दोषी देख्छ । अरु कसैलाई नभएर माधव नेपाललाई भारतीय शासकले त्यतिबेलै अन्तरंग सम्बन्धमा राखेको सजिलै बुझिन्छ ।

केशवप्रसाद भट्टराईले फेसबुकमा लेखे अनुसार श्याम शरण मार्फत् रअले मिलाइ दिएको व्यवस्था अनुसार प्रचण्ड र बाबुरालाई भेटेर माधव नेपाल काडमाडौँ आएर सोझै प्रधान सेनापतिलाई भेटेर दबाव दिए । यस कुरालाई विवेक शाह,एसडी मुनि र कान्तिपुरमा प्रचण्ड निकट मानिने प्रधान सम्पादक सुधीर शर्माले स्पष्ट पारेको भट्टराईले उल्लेख गर्नु भएको छ । माओवादी निकट पत्रकार शुभशंकर कँडेलको पुस्तक अवतरण मा प्रचण्ड र बाबुरामले पनि भारतको त्यो संबन्धलाई स्वीकार गरेका छन् । श्याम शरण प्रचण्ड र बाबुरामसँगको परामर्श अनुसार प्रधान सेनापतिलाई आत्मसमर्पण गराउने कार्य भइरहँदा युरोपीय मुलुकका राजदूतहरु हुल बाँधेर गिरिजाप्रसाद कोइरालालाई राजासित सम्भौता नगर्न दवाव दिएको कुरा राजिब उपाध्यायले क्याबाल्ज एण्ड कार्टेल्स नामको पुस्तकको पृ.१०९ मा उल्लेख गरेका छन् । उनी विश्वबैँकको नेपाल र दक्षिण एसिया शाखामा लामो समय कार्यरत दाता संगठन र राष्ट्र सँग निकट रहेर काम गरेका व्यक्ति हुन् । युरोपेली मुलुकसित रहेको पहिलेदेखिको सम्ंबन्ध बलियो बनाउन माधव नेपालले होलिवाइन ग्रुपसहितका विभिन्न इसाइ संगठन र तिनको प्रभावका युरोपेली मुलुकसित सम्बन्ध जोडिएको लेखकको किटानी उल्लेख छ ।

वरिष्ठ लेखक भट्टराईले भारतीय गुप्तचर संयन्त्रसँगको त्यतिखेर देखिकै सम्बन्धको बलमा मदन भण्डारी र जीवराज आश्रितको रहस्यपूर्ण दुर्घटनामा भएको निधनपछि पार्टीका अन्य वरिष्ठ नेताहरुलाई उछिन्दै माधव नेपाल एमाले पार्टीको महासचिव बन्नु भएको बुझ्न गाह्रो छैन भनेर लेख्नु भएको छ । । उक्त कुराभित्र गम्भीर रहस्य निहित रहेको भान हुन्छ । भट्टराईले दृश्यमा अगाडिअगाडि प्रचण्ड र बाबुराम देखापरे पनि पर्दा पछाडिबाट माधव नेपाल र वामदेव गौतमहरुको गुट माओवादी विद्रोहसँग जोडिएको त्यतिखेर देखि नै थाहा भएको बताउनु भएको छ । स्मरणीय छ केपी ओली निकट मानिने कुनै नेता माओवादी गतिविधिसित त्यसरी गाँसिएका देखिएनन् भन्नु भएको देखिन्छ । प्रसिद्ध लेखक सौरभले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीमा ओलीको प्रमुख नेतृत्व रहेको भए भारतमा भएको १२ बुँदे सम्झौता हुने थिएन भन्नु भएको छ ।

कतिपय इमानी स्वतन्त्र लेखक र विश्लेषकहरु ओली सरकारका सकार र नकारको सन्तुलित चर्चा गर्नु हुन्छ । तर कतिपय केही दिनको खपतका लागि र देशलाई अस्थिर र अराजक बनाउन उद्यत लेखक र विश्लेषकहरु ओली विरुद्ध एकोहोरो तारन्तार लेखिबोलि रहेको देखिन्छ । तर नेमकिपाका वरिष्ठ नेता नारायणमान विजुक्छेले फरक पार्टी र विचारका पार्टी अध्यक्ष र प्रधानमन्त्रीका कट्टर ओली विरोधी दाहाल नेपाल भारतीय शाषक अनुकूल सञ्चालित रहेको स्पष्ट पार्नु भएको छ तर आफ्नू र आफन्तको आङको भैँसी नदेख्ने प्रवृत्ति घातक प्रवृत्ति हो । स्वयं केशवप्रसाद भट्टराईले आफू ओली वा कम्युनिस्ट पार्टीलाई मतदान नगर्ने भए पनि ओली लगायत नेताका सकारलाई स्वीकार र समर्थन गर्ने बताउन्ु भएको छ । तर नेता प्रदीप नेपाल कुन आधार र प्रमाणका आधारमा एकतर्फी विचार प्रवाह गरिरहन्ु भएको देख्दा अचम्म लाग्छ । आफू र आफन्तमा लागेको भए पनि क्षय रोग पालेर कोही पनि दीर्घायु हुँदैन । यत्ति कुरा नेपाल लगायत सबैले बेलैमा बुझ्नु जाती हुन्छ ।

प्रतिक्रिया