प्रदेश एक १० विकेटले विजयी

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कप्तान रुविना क्षेत्री बेलबासेको उत्कृष्ट ब्याटिङको सहयोगमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ललितपुर मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगितामा १० विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले १३.२ ओभरमा कुनै विकेट नगुमाई सहजै पूरा गर्यो । प्रदेश १ की कप्तान रुविना क्षेत्री बेलबासे ४९ बलमा १२ चौका र १ छक्का सहित ६८ रनमा अविजित रहँदै सहज जित दिलाइन् । काजल श्रेष्ठ ३२ बलमा ३ चौका सहित २५ रनमा अविजित रहिन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । लुम्बिनी प्रदेशको लागि सरस्वती घर्तीमगर ६६ बलमा ५ चौका सहित सर्वाधिक ५० रनमा अविजित रहिन् । सरस्वतीले ६६ बलमा अर्धशतक पूरा गरिन् । सरस्वतीले पहिलो खेलमा ललितपुर मेयर–११ विरुद्ध ४६ रनको अविजित इनिङ खेलेकी थिइन् । कप्तान नेरी थापा १५ बलमा ३ चौका सहित २० रनमा अविजित रहिन् ।

दोस्रो विकेटका लागि नितु भण्डारी र सरस्वती घर्तीमगरले ५९ रनको साझेदारी गरेका थिए । नितु १५ औं ओभरको पाँचौ बलमा तालमेल नमिल्दा १८ रनमा रन आउट हुन पुगिन् । नितुले ३३ बलको समना गर्दा कुनै बाउन्ड्री भने प्रहार गर्न सकिनन् । ओपनर वर्षा रानालाई सबनम राईले तेस्रो ओभरको तेस्रो बलमा शून्यमा बोल्ड आउट गरेकी थिइन् । सबनम राईले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिइन् । प्रदेश १ का अन्य बलरले भने विकेट लिन सकेनन् । पहिलो खेलमा प्रदेश १ एपिएफसँग ८ विकेटले पराजित भएको थियो । लुम्बिनी प्रदेश पहिलो खेलमा ललितपुर ११ सँग २७ रनले पराजित भएको थियो । प्रदेश १ ले तेस्रो खेल मंगलबार सुदूरपश्चिमसँग खेल्ने छ । लुम्बिनीले बुधबार सुदूरपश्चिमसँग खेल्ने छ ।

प्रतिक्रिया