हेल्प नेपालसंग बुलबुले पराजित

काठमाडौं । पछिल्लो दुई खेलमा उच्च प्रदर्शन गरेको बुलबुले रारा भलिबल क्लबलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा हेल्प नेपालले बुलबुले रारालाई ३–१ को सेटमा पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको हो । प्रतिस्पर्धात्मक खेलमा हेल्प नेपालले सुरुवाती सेट २१–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पारेको हो ।

दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेटमा एक समय आरामदायी अग्रता लिएको हेल्प नेपालले त्यसलाई निरन्तरता दिन नसकेपनि २६–२४ ले खेल आफ्नो पक्षमा पार्दै खेलमा अग्रता लिएको थियो ।

प्रतिस्पर्धात्मक चौथो सेटमा पनि हेल्प नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । यो जितसँगै अपराजित रहेको हेल्प नेपालले ३ खेलबाट ९ अंक जोडेको छ । लिगमा दोस्रो हार बेहोरेको बुलेबुलेको ४ खेलबाट ६ अंक रहेको छ ।

प्रतिक्रिया