फेरी नेतृत्व लिने मुडमा कांग्रेस, मा‌ओवादीद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेलको चाहानाअनुसार फेरी सरकारको नेतृत्व लिने मुड बनाएको छ । प्रतिनिधि सभा पुनःस्थापना हुने वित्तिकै सरकार बनाउन हौसिएको प्रमुख प्रतिपक्षी दल कांग्रेस त्यसपछि भने प्रतिपक्षमा बस्ने भन्ने निर्णय गर्दै आएको थियो । तर, शुक्रबारको केन्द्रीय समितिको बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै सरकार बनाउने निर्णय गरेको हो । पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ निर्धारित समयभन्दा निक्कै ढिलो बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो । प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको केन्द्रीय सदस्य डा. डिला संग्रौलाले जानकारी दिइन् ।

यो निर्णय गराउन विशेष गरी नेता पौडेल समुहले दबाव दिएको थियो । जसको मुख्य कारण थियो, माओवादी केन्द्रले शनिवार सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय । केन्द्रीय कमिटी बैठकअघि सानेपामा भएको शीर्ष नेताहरूबीचको छलफलमा पौडेलले आफूले माओवादी केन्द्रले समर्थन फिर्ता लिने जानकारी पाएको बताउँदै सत्ता गठबन्धनको विषयमा जसरी पनि आजकै बैठकमा निर्णय हुनुपर्ने अडान लिएका थिए ।

‘माओवादीले भोलि (शनिवार) सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’ उनले देउवा प्रधानमन्त्रीको उम्मेद्वार नबन्ने भए अर्कै नेतालाई भएपनि अगाडी सार्नुपर्ने बताएका थिए । पौडेलको अडानपछि सभापति शेरबहादुर देउवाले परिस्थिति पक्का नहुँदासम्म कांग्रेसले निर्णयमा हतार गर्न नहुने बताएका थिए ।

यही विषयमा लफडा परेपछि दुई बजे बोलाइएको बैठक राति अवेरमात्र शुरु भएको थियो । कांग्रेसभित्र पौडेल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने मनस्थितिमा छ भने देउवा अहिले नै निर्णय गर्न नहुने पक्षमा छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि कसरी अगाडी बढ्ने भन्नेमा नेताहरुबीच नै अन्यौल छ ।
सत्तारुढ नेकपा एमाले र विपक्षी दलहरुलाई सरकार बनाउन अहिले जनता समाजवादी पार्टी (जसपा)लाई मनाउनुपर्ने अवस्था छ । तर, जसपाभित्रै सरकारका विषयमा दुई लाइन भएकाले दुवै पक्षमा सहमति जुट्नेमा आशंका व्यक्त गरिएको छ । जसले गर्दा कतिपयले अब मंसिरमा निर्वाचनमा जानुपर्ने विचार समेत व्यक्त गरिरहेका छन् । यद्यपी निर्वाचनका विषयमा एमाले बाहेकका दलहरुले अहिलेसम्म निर्णय भने गरेका छैनन् ।

माओवादी केन्द्रले पनि शनिवार नभए आइतवार सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्ने तयारी गरेको छ । तर, पौडेलको भनाईलाई मान्ने हो भने शनिवार नै समर्थन फिर्ता गर्नेछ । त्यसपछि दलहरुलाई आ–आफ्नो निर्णय गर्न सहमति बनाउन बाटो खुल्ने नेताहरुको भनाई छ । अहिलेसम्म भने यही सरकारले निरन्तरता पाउने वा नयाँ सत्ता समिकरण बन्ने भन्नेमा अन्यौलता रहदै आएको छ ।

उता, नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने बताए । उनले पनि माओवादीले समर्थन फिर्ता लिने संकेत गर्दै विश्वासको मत लिने बताएका हुन् । प्रधानमन्त्री ओली र जसपाका विशेष गरी महन्थ ठाकुर समुहबीच निरन्तर वार्ता भईरहेको छ । एमाले एक ढिक्का रहेमा र जसपा सत्ताका लागि विभाजन भएमा कता पट्टी बहुमत पुग्छ भन्ने कुरा संख्याले निर्धारण गर्नेछ ।

मा‌ओवादीद्वारा स्वागत

प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेकामा माओवादीले यसको स्वागत गरेको छ। कांग्रेसको निर्णयमा सबै किसिसमको सहयोग गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

माओवादीको आइतबार आयोजना हुने स्थायी कमिटी बैठकमा यसबारे छलफल हुने बताइएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकले व्यापक छलफल गरेपछि ओलीलाई विस्थापित गरेर कांग्रेस नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय गरेको हो। प्रतिनिधिसभा पुनःस्थापित भएपछि ओलीको सत्ता साझेदार माओवादी केन्द्रले कांग्रेस पटक पटक सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि सभापति देउवाले अवस्था परिपक्व नभएको बताउँदै आएका थिए।

प्रतिक्रिया