चुरेका सबै वडा सडक सञ्जालसँग जोडिए

धनगढी । कैलालीको चुरे गाउँपालिकाका ६ वटै वडाहरू सडक सञ्जालसँग जोडिएका छन् । गाउँपालिकामा रहेका ६ वटै वडामा जनप्रतिनिधिले सडक पुर्याउन प्राथमिकता दिएपछि सबै वडा सडक सञ्जालसँग जोडिएका हुन् । गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएपछि स्थानीय बासिन्दालाई सहज भएको छ । सडक गाउँघरमै पुगेपछि स्थानीय उत्पादित बस्तुले बजार पाउन थालेको चुरे गाउँपालिका–२ का स्थानीय नरबहादुर साउँदले बताए । सडक नपुग्दा स्थानीय उत्पादित बस्तु घरमै थन्क्याउनुपर्ने बाध्यता थियो अहिले उचित बजारमूल्य पाउन थालेको छ । स्थानीय उत्पादित बस्तुले उचित बजार मूल्य पाउन थालेपछि स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि भएको उनले बताए ।

जिल्लाको पहाडी भेगमा पर्ने सो गाउँपालिका कृषि र पशुपालनका लागि उपयुक्त मानिन्छ । सुन्तला, अदुवा, कागती, बेसारको पकेट क्षेत्रका रूपमा रहेको चुरेका सबै वडामा सडक पुगेपछि स्थानीय उत्पादित बस्तुले उचित बजार मूल्य पाउन थालेको स्थानीयको भनाइ छ । चुरे गाउँपालिका–२ मा गएको कात्तिकमा सडक पुगेपछि उत्पादित सुन्तला लगायतका बस्तुले उचित बजार मूल्य पाउँदा स्थानीय हर्षित भएको हर्कबहादुर साउदले बताए । सडक नपुग्दा फलेका सुन्तला बारीमै कुहिने गरेकोमा यसपाली किसानले बारीमै प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री गरेको साउदले बताए । स्थानीयले सुन्तला मात्र होइन उत्पादित अन्य फलपूmल बिक्री गरेर मनग्य आम्दानी गरेको उनको भनाइ छ ।

सबै वडा सडक सञ्जालसँग जोडिएपछि स्थानीयबासिन्दाहरू निकै खुसी भएको स्थानीय दलवीर दमाइले बताए । चुरे गाउँपालिकामा रहेका ६ वडा मध्ये ५ वडामा गतवर्ष नै सडक पुगेको थियो भने यस वर्ष चुरे गाउँपालिका–२ खैरालामा सडक पुगेको वडाध्यक्ष तारा सिंह साउदले बताए । यसैगरी कैलालीको चुरे गाउँपालिका–२ र ४ मा रहेको गर्भादरबारसम्म सडक पुगेपछि गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउदले बताइन् । सबै वडा गाउँपालिकाको केन्द्रसम्म सडक पुगेकोले अब आगामी आर्थिक वर्षदेखि सडक स्तरोन्नतिको कामलाई प्राथमिकता दिइने उपाध्यक्ष साउदको भनाइ छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले आफूहरूले विकासको जग बसालेको बताए ।

प्रतिक्रिया