काठमाडौं आउन पिसिआर !

फाइल तस्विर

काठमाडौं । कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ । विशेषगरी भारतबाट आउनेमा कोरोना संक्रमण बढि देखिन थालेपछि काठमाडौं प्रवेशमा कडाई गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको छ । बुधबारै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा नाकामै कोरोना परीक्षण गर्ने बताएको छ । ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ । ‘केही दिनयता हामीले रूघाखोकी र ज्वरो आएका व्यक्तिहरूलाई परीक्षणमा पठाउने गरेका छौं,’ पराजुलीले भने ।

परीक्षणको जिम्मा स्वास्थ्य कार्यालयलाई दिइएको छ । नाकाहरूमा ज्वरो नाप्ने कार्य पहिलेदेखि नै लागू गरिएको थियो । ज्वरो मापनलाई अहिले प्रभावकारी बनाइएको छ । नाका छिर्ने व्यक्तिहरूलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सोधीखोजी गर्ने गरेका छन् । लक्षण देखिएकालाई पिसिआर परीक्षण गर्न पठाउने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा एन्टिजेन परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउन निर्देशन दिएको छ । प्रवक्ता डा जागेश्वर गौतमले चैत १८ गते बसेको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसिएस)ले कोभिड संक्रमण बढ्न सक्ने भन्दै सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कुनै पनि जुलुस, भीडभाड, सभा, सम्मेलन, भेला रोक्न अनुरोध गरे । त्यसैगरी सबै सरकारी तथा निजी प्रयोगशालालाई तयारी अवस्थामा राख्न र सरकारी प्रयोगशालमा जनशक्ति आवश्यकता भएमा जनशक्तिका लागि थप रकम माग गर्न सक्ने बताए ।

मन्त्रालयले संघ अन्तर्गतका प्रादेशिक अस्पताल, संघीय अस्प्ताल तथा सबै आधारभूत अस्पतालमा कोभिड–१९ को उपचार गर्ने व्यवस्थापन गर्ने त्यसको शोध भर्ना गरिने जनाएको छ । बैठकले प्रदेशमा आइसोलेसन सेन्टर बनाउन पठाइएको रकमबारे हरेक प्रदेशले प्रतिवेदन पठाउने र आवश्यकता अनुसार थप रकम माग गर्न सक्ने निर्णय गरेको छ । साथै निकासा नभएको रकम सम्बन्धमा स्वास्थ्य मन्त्रालयबाट अर्थ मन्त्राललाई पत्राचार गर्ने भनिएको छ । २००० हाइडिपेन्डेसी युनिट (एचडियु) बेडको स्थापना तथा सञ्चालनका लागि स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रले हरेक प्रदेशलाई जानकारी गराउने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया