न्युजिल्यान्डलाई टि२० सिरिज

ढाका । न्युजिल्यान्डले बंगलादेशविरुद्ध तीन टि२० आई सिरिज एक खेल अगावै जितेको छ । मंगलबार दिउँसो सम्पन्न दोस्रो खेलमा न्युजिल्यान्डले बंगलादेशलाई डकवर्थ लेविस पद्धतीको आधारमा २८ रनले हराउँदै सिरिज जितेको छ । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनायो । बंगलादेशका सौम्य सरकारले २७ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए । ओपनर मोहम्मद नईमले ३५ बलमा ४ चौका सहित ३८ रनको योगदान दिए । दोस्रो विकेटका लागि नईम र सरकारले ८१ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए । तर त्यसपछिका ब्याट्सम्यान सस्तैमा आउट हुन पुगेपछि पराजित हुन पुगेको थियो । कप्तान महमुदूल्लाह २१, अफिस होसिन २ र मोहम्मद मिथुनले १ रनमा आउट भए ।

न्युजिल्यान्डका तीव्र गतिका बलर एडम मिल्ने ३ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । कप्तान टिम साउथीले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हमिश बेनेटले २ र ग्लेन फिलिप्सले १ विकेट लिए । त्यसअघि नेपियरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । न्युजिल्यान्डका ग्लेन फिलिप्स ३१ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ५८ रनमा अविजित रहे । तल्लोक्रममा डर्याल मिचेल १६ बलमा ६ चौका सहित ३४ रनमा अविजित रहे । छैटौं विकेटका लागि मिचेल र फिलिप्सले २७ बलमा ६२ रनको अविजित उत्कृष्ट साझेदारी गरेका थिए ।

न्युजिल्यान्डलाई ओपनर फिन एलेन र मार्टिन गुप्टिलले ४ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । एलेन तीव्र गतिका बलर तस्किन अहमदको बलमा मोहम्मद नईमबाट १७ रनमा क्याच आउट हुन पुगे । एलेनले १० बलमा २ चौका र १ छक्का प्रहार गरे । छैटौं ओभरको अन्तिम बलमा मोहम्मद सैफुद्दिनले गुप्टिललाई २१ रनमा तस्किन अहमदबाट क्याच गराउँदै दोस्रो सफलता दिलाए । गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । विकेटकिपर देभन कन्वे १५ र विल योंग १४ रनमा आउट भए । बंगलादेशका स्पिनर मेहदी हसनले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । मोहम्मद सैफुद्दिन, तस्किन अहमद र शोरिफुल इस्लामले १–१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ६६ रनले विजयी भएको थियो ।

प्रतिक्रिया