बम विस्फोट गराउने दुई जना नियन्त्रणमा

सिरहा । जिल्लाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा २ जना पक्राउ परेका प्रदेश–२ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । पक्राउपर्नेमा सिरहाको सुखिपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरका २६ वर्षीय अभिमन्यु गिरी रहेका छन् । गतवर्षको १ चैतमा मालपोत कार्यालय लहानको पहिलो तलामा भएको बम विस्फोटमा आठ जना घाइते भएका थिए । प्रेसर कुकर बम विस्फोटमा परी कार्यालयमा समेत क्षति पुगेको थियो । बम विस्फोटको जिम्मा घटनाकै दिन तराई जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहले प्रेस विज्ञप्तिमार्फत लिएको थियो ।

घटनास्थलमा समेत उक्त समूहको पर्चा फेला परेको थियो । बम विस्फोट अध्यक्ष जयकृष्ण गोइतकै निर्देशनमा भएको पाइएको छ । पक्राउ परेका यादवले आरके भन्ने रामकुमार यादवले २६ फागुनमा लहानदेखि दक्षिण भगवानपुर गाउँपालिका ठाडी भन्ने स्थानमा आफूलाई प्रेसरकुकर बम दिएको र मालपोत कार्यालयमा पड्काउन लगाएको बताएका छन् । रामरिझन ०७४ चैत ९ मा लहानमा अवस्थित विकास ट्रेडर्समा भएको बम बिस्फोटमा जिल्ला अदालत सिरहाबाट एक लाख धरौटीमा छुटेका थिए । विराटनगर उपमहानगरपालिकामा ०७५ साउन ३१ मा भएको बम विस्फोटको मुद्दामा पनि ३५ हजार रुपैयाँ धरौटीमा उनी छुटेको बताइएको छ ।

गिरी पाँच वर्षदेखि उक्त समूहमा कार्यरत रहेको र चन्दा असुलीमा समेत संलग्न रहेको पाइएको प्रदेश–२ प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले जानकारी दिए । गिरी र यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल दुई थान र त्यसको गोली चार थानसमेत बरामद गरेको छ ।

प्रतिक्रिया