संघमा नयाँ नेतृत्व

काठमाडौं । सौन्दर्य प्रतियोगिता संघ नेपालको दोस्रो साधारण सभाबाट गोपाल सुन्दरलाल कक्षपतिको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । मिस नेपालका आयोजकसमेत रहेका कक्षपति अध्यक्षतामा आगामी दुई वर्षका लागि साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको हो ।

संघको उपाध्यक्षमा फुपु तेन्जिङ शेर्पा, रमी श्रेष्ठ, महासचिवमा निशुकान्त झा र कोषाध्यक्षमा बालकृष्ण पोखरेल चयन भएका छन् । त्यसैगरी, संघको केन्द्रीय कार्यसमिति सदस्यमा आश्विनीकान्त झा, अनिला श्रेष्ठ, नारायण आचार्य, मञ्जु श्रेष्ठ, शारदा सापकोटा र शारदा थापा चयन भएका छन् ।

यस्तै, संघका नवनिर्वाचित महासचिव निशुकान्तले संघले सौन्दर्य प्रतियोगितासम्बन्धी आचारसंहिता तयार गरेको र चाँडै नै लागू गरेर सौन्दर्य प्रतियोगितालाई व्यवस्थित बनाउने बताए । यसअघि पनि संघको महासचिव नै रहेको निशुकान्तले संघ अब प्रादेशिक संरचनामा जाने पनि जानकारी गराए ।

नेपालमा अढाई दशकदेखि सुरु भएको सौन्दर्य प्रतियोगिता पछिल्लो समय नेपालमा वार्षिकरुपमा २५० भन्दा बढी कार्यक्रम हुन थालेपछि संघ स्थापना गरिएको संघका अध्यक्ष कक्षपतिको बताए । उनले नेपालमा एसिड आक्रमणको शिकार भएकाको सम्मानमा चाँडै एक कार्यक्रम गरेर उनीहरुलाई समाजमा बाहिर आउन आफूहरुले प्रोत्साहन गर्ने बताए ।

प्रतिक्रिया