बेलौरी छोटी भन्सार स्तरोन्नतिको माग

कञ्चनपुर । बेलौरी छोटी भन्सार कार्यालयको व्यवसायीले स्तरोन्नतिको माग गरेका छन् । भन्सार कार्यालयको स्तरोन्नतिको कार्य भए यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि भई आर्थिक, सामाजिक र धार्मिक गतिविधि बढ्ने सम्भावना रहेको छ । छोटी भन्सार कार्यालयमा हाल न्यून मात्रै राजस्व संकलन हुँदै आएको छ । भन्सार कार्यालयको स्तरोन्नतिसँगै कर्मचारीको व्यवस्था गरिए लाखौँको राजस्व संकलन हुने देखिन्छ । छोटी भन्सार कार्यालय पुनःस्थापनासँगै स्तरोन्नति गर्ने उद्देश्यले ०७५ को मंसिरमा काठमाडौंमा भएको नेपाल–भारत दुवै देशका भन्सार विभागको उच्चस्तरीय प्रतिनिधिमण्डलको दुई दिवसीय भेलाले बेलौरी छोटी भन्सार कार्यालयसहित देशका पाँच वटा सीमा बिन्दुमा रहेका सीमा नाकामा भन्सार कार्यालय स्थापना गर्ने र स्तरोन्नतिका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष टेकबहादुर साउदले बताए ।

‘उक्त निर्णय हालसम्म लागू हुन सकेको छैन’, साउदले भने, ‘पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यसमेत गरेका छौँ ।’ उनका अनुसार दुई दिनअघि मात्रै संघको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उहाँकै निवासमा भेटेर भन्सार कार्यालय स्तरोन्नतिका लागि माग पत्रसमेत बुझाइएको छ । ‘मन्त्री भट्टले सरकारको नीति तथा कार्यक्रममा भन्सार कार्यालय स्तरोन्नतिका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, उनले भने, ‘सकारात्मक जवाफ पाएका छौँ । यस विषयमा अर्थ मन्त्रालयसँगसमेत छलफल गर्ने अश्वासन दिनुभएको छ ।’

१९१७ देखि २०१९ सालसम्म कैलाली कञ्चनपुरको मुख्य रूपमा काम गर्दै आएको भन्सार कार्यालय राजनीतिक कारणले बेलौरीबाट जिल्ला सदरमुकाम विस्थापित भएपछि अरू अड्डासँगै बैंकसमेत सरेपछि ओझेलमा पर्दै आएको छ । यस क्षेत्रका बासिन्दाले लामो समयदेखि विभिन्न संघसंस्थाबाट भन्सार नाका स्थापित गर्न आवाज र पहल गरिरहेका छन् । भारततर्फबाट पनि भारतीय जनता पार्टीका लखिमपुर जिल्ला सांसद अजय मिश्राले यसबारे पटकपटक भारतीय संसद् भवनमा विषय उठाउँदै आएका छन् ।

हाल बेलौरीमा राष्ट्रिय वाणिज्य बैंकसहित एक दजर्नको हाराहारीमा वाणिज्य तथा विकास बैंक सञ्चालित छन् । बेलौरी बजार सहरी विकासको राष्ट्रिय नीतिअनुरूप नमुना सहर विकास कार्यक्रममा सूचीकृत भएको छ । ३० किलोमिटर लामो बेलौरी कलुवापुर राजमार्ग भन्सार परिसर हँुदै नेपाल–भारत सीमामा भारततर्फको खजुरीया पुरनपुर सबहावेसँग जोडिएको छ ।

बेलौरी धनगढी २५ किलोमिटर हुलाकी राजमार्ग पनि लगभग ८०÷९० प्रतिशत कालोपत्र भएको छ । खुला सिमानासम्म नै आवादी क्षेत्र भएकाले सिमानामा कुनै नदी नाला र जंगल छैन । वाणिज्य व्यापार तथा पर्यटकीय सुगमताको यस क्षेत्रले प्रचुर सम्भावना बोकेको छ । भन्सार कार्यालयको स्वामित्वमा ३० हजार वर्ग मिटरभन्दा बढी जग्गा रहेको छ । जग्गाको स्वामित्व भएको भन्सार परिसरमा तीन भवन रहेका छन् ।

प्रतिक्रिया