लोकदोहोरीको सेन्सरबोर्ड स्थापनामा जोड

काठमाडौं । लोकदोहोरी क्षेत्रमा भएका कमी कमजोरी र विभिन्न किसिमका कार्यलाई सशक्त ढंगले चलायमान बनाउनका लागि सेन्सरबोर्ड स्थापनामा जोड दिइएको छ । आलाप दोहोरी प्रतियोगिता कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थीत भएकी उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विमला बिकले नेपाली सांगीकि क्षेत्रमा लोकदोहोरी गीतले पनि नेपाललाई विश्व सामु छुट्टै पहिचान राख्न ठूलो भूमिका खेलेकोले यसलाई अझै सशक्त ढंगले चलायमान बनाउदै लैजान सारकारले सेन्सरबोर्ड स्थापना गरिदिन पर्नेमा जोड दिइन् ।

उनले आफू उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री भए पनि यसबारे सरकारमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाइन् । मन्त्री बिकले भनिन्, ‘गीत संगीतले मानीसको जीवनमा विभिन्न हौसला र देशको गरिमा बढाउँन उर्जा थपेको छ, चलचीत्र विकास बोर्ड तथा सेन्सरबोर्ड सरकारले नै स्थापना गरेर चलचीत्र क्षेत्रमा ठूलो सहयोग मिलेको छ, त्यसैगरी लोकदोहोरी क्षेत्रमा पनि सेन्सरबोर्ड स्थापना गरिदिन आवश्यक छ, तपाइँहरुको मागका बारेमा माथि कुरा लैजाने छु ।’

साथै, उनले अहिले दोहोरी क्षेत्रमा भइरहेका बिक्रिती बिसंगतीमा पनि कलाकारहरुले ध्यान दिएर सफासुघ्घर बनाउनेतर्फ लाग्नुपर्ने बताइन् । मन्त्री बिकले देशमा जातीय विभेद र हत्या हिंसाले अझै उग्ररुप लिएको भन्दै त्यस क्षेत्रमा पनि सरकारले नियन्त्रण गर्न पहल गरिरहेको जानकारी दिइन् । साथै, उनले आफ्नै देशमा उत्पादन भएका विभिन्न खाद्यवस्तु लगायत चिजहरु आम नागरीकले प्रयोग गर्नुपर्नेमा पनि जोड दिइन् ।

‘भारतबाट आएका तरकारीहरु हाम्रो नेपाली बजारमा बिक्री वितरण भएरहेका छन्, नेपालीले मेहनत गरेर आफ्नै माटोमा उत्पादन गरेका तरकारीहरु खेर गइरहेका छन्, त्यसैले आफ्नै देशमा उत्पादन भएका सामानहरु हामी सबैले प्रयोग गरेर आफ्नो बजार बलियो बनाउन पर्छ’, मन्त्री बिकले भनिन् ।

त्यस्तै, सोही कार्यत्रममा अतिथिकै रुपमा सहभागी भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव सुवास केसीले सरकारले नै सेन्सरबोर्ड स्थापना गरिदिन पहल नगरेकै कारण पछिल्लो समयमा यस क्षेत्रमा बिक्रिती फैलिएको गुनासो गरे । सरकारले कलाकारलाई राष्ट्रको गहनाको रुपमा हेरेको मुखले ठिक्क पारेको भन्दै महासचिव केसीले व्यवहारमा नदेखाएको बताए ।

उनले अब पनि सरकारले लोकदोहोरी क्षेत्रमा सेन्सरबोर्ड स्थापना गरिदिएर प्रतिष्ठानलाई बाटो नखुलाइदिए अझै बिक्रिती फैलिने मोडमा पुगेको बताउँदै मन्त्री बिक सांस्कृतिक मन्त्री नभएपनि उनीमार्फत यस विषयमा सरकारसमक्ष आवाज उठाउन माग गरे । महासचिव केसीले भने, ‘लोकदोहोरीमा बिक्रिती फैलिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ, तर यसलाई नियन्त्रण गर्न प्रतिष्ठानलाई सरकारले कुनै मान्यता दिएको छैन, यद्यपि मान्यता पाइन्थयो भने बिक्रिती भित्र्याउने जुनसुकै कलाकार भए पनि कानूनबमोजिम कारवाही गरेर प्रतिष्ठानले नियन्त्रण गर्ने थियो, त्यसैले माननीय मन्त्री ज्यु मार्फत हाम्रो माग सरकारसमक्ष पुगेर लोकदोहोरी क्षेत्रमा सुधार आउनेमा विश्वस्त छु ।’

साथै, उनले यस दोहोरी प्रतियोगीतामा आफ्नो व्यक्तिगत र प्रतिष्ठानको तर्फबाट पनि सहयोग रहने बताए । सोही कार्यक्रममा राष्ट्रियसभाका सदस्य चक्र रसाइली पनि विशिष्ठ अतिथिको रुपमा सहभागी थिए । उनले पनि लोकदोहोरी क्षेत्रलाई थप मजबुत बनाउन सरकारले कदम चाल्न पर्ने भन्दै राष्ट्रियसभाको बैठकमा यस विषयको कुरा उठाउने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रियसभा सदस्य रसाइलीले भने, ‘म एक उच्च स्थानमा छु र कलाकारहरुलाई ध्यान दिएर हेरेको छु, यस कार्यक्रममा आएर यतीसम्मका कुरा सुन्दा यतीकै चुप बस्न मनले पक्कै मान्दैन, आगामी बैठकमा यसकारे आवाज उठाएर कलाकारहरुका जीवनलाई उचाइमा पेर्याउन पहल गर्नेछु ।’ ‘उच्च शिक्षाका लागी आलाप दोहोरी घर’ भन्ने मुल नाराका साथ आलाप दोहोरी प्रतियोगिता २०७७–०७८ को आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा गायक–संगीतकार झलक संगीतमले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा लोकदोहोरी गायक राजु परियारले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन गायक रेशम सापकोटा र गायिका पुर्णकला बिसीले गरेका थिए । आलाप दोहोरी प्रतियोगितामा बिल्कुलै नयाँ भाका र फरक शैलीमा प्रस्तुत हुने अध्यक्ष संगीतमले बताए । उनका अनुसार प्रतियोगीताका बिजेतालाई रु २ लाख पुरस्कारका साथै चार वटा नयाँ गीतको अडियो भिडियो खर्च गरिने छ ।

त्यस्तै, दोस्रो पुरस्कार राशि १ लाख नगद पुरस्कारसहित ३ वटा गीतको अडियो भिडियो निर्माण गरिनेछ । तेस्रो पुरस्कार ५० हजार नगदसहित २ वटा गीतको अडियो भिडियो निर्माण गरिदिने र सान्त्वना पुरस्कारमा नगद राशि २५ हजारसहित एक गीतको अडियो भिडियो निर्माण गरिने प्रतियोगिताका अध्यक्ष संगीतमले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा गायक राजु परियार, विष्णु खत्री, पशुपती शर्मा, रामजी खाँण, नवराज घोरासैनी, रेशम थापा, ईन्दिरा गोले, देवी घर्ती, टिका पुन, मञ्जु पौडेल, खुमन अधिकारी लगायत रहेको बताइएको छ ।

प्रतियोगिताको कार्यक्रम अवधीभर सञ्चालकको रुपमा रेशम सापकोटा, पुर्णकला बिसी, कुल बहादुर ओली, टिका सानु, सुवास केसी र ममता खड्का रहने अध्यक्ष संगीतमले जानकारी दिए । दोहोरी प्रतियोगिता करिव ९ महिनासम्म सञ्चालन रहेने उनले बताए । उक्त प्रतियोगिता यही चैत १४ गतेबाट सुरु भएको हो । कार्यक्रमलाई रमाइलो टीभीले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

उक्त प्रतियोगितामा चार वटा समूह सगरमाथा हिमाल, कञ्चनजंगा हिमाल, धौलागिरी हिमाल र अन्नपूर्ण हिमाल रहने बताइएको छ । अध्यक्ष संगीतमले लोक संगीतको विकासका लागि सधैँ अनवरत रुपमा लाग्ने प्रतीबद्धता व्यक्त गर्दै प्रतियोगीहरुलाई नयाँ भाका सिकाएर आलाप दोहोरी प्रतियोगिता प्रतिस्पर्धा गराउने बताए । रमाइलो टीभीका निर्देशक गीतकार दयाराम पाण्डे, गायिका कार्यक्रममा गायिका शर्मिला गुरुङ, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित लगायत धेरै पत्रकार र कलाकारहरुको सहभागीता थियो ।

प्रतिक्रिया