नुवाकोटका सबै पालिका डढेलोबाट प्रभावित

त्रिशूली । हिउँदको समय सुरु भएसँगै नुवाकोटका जंगल क्षेत्रमा डढेलोको घटना बढेको छ । जिल्लाका १२ वटै स्थानीय तहका वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाको अनुसार जिल्लाका जंगल क्षेत्रमा अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलोको घटना धेरै गुणाले बढेको छ । उहाँका अनुसार जिल्लामा अहिले सामुदायिक वन ३ सय ७७ रहेका छन् भने निजी वन १५ र धार्मिक वन तीन छन् । यसमध्ये अहिलेसम्म सयभन्दा बढी सामुदायिक वनमा डढेलो लागेको वन कार्यालयले जनाएको छ । हाल एक दर्जनभन्दा बढी सामुदायिक वनमा डढेलो लागिरहेको र त्यो नियन्त्रण बाहिर छ ।

‘अघिल्ला वर्षमा हिउँदको समयमा वर्षात् हुने कारण आगलागी र डढेलोका घटना कमी हुने गरेको थियो’, उनले भने, ‘यस वर्ष हिउँद्मा वर्षा नहँुदा डढेलोको घटनामा निकै धेरै वृद्धि भएको छ ।’ हिउँद तथा सुक्खा मौसम भएका कारण डढेलोको जोखिम यसवर्ष झनै वृद्धि हुँदै जाने देखिएकाले सतर्कता अपनाउन कार्यालयले अनुरोध गरेको छ । आगलागी र डढेलेको घटनाको सूचना पाएलगत्तै नियन्त्रणका लागि सुरक्षाकर्मी, उपभोक्ता र सामाजिक संघसँस्थासँग सहकार्य गरेर परिचालन हँुदै आएको छ ।

जंगल क्षेत्रमा लाग्ने डढेलोका घटना प्राकृतिक कारण न्यून र मानवीय लापरवाही तथा त्रुटिका कारण बढी भएकाले आगलागी र डढेलेको घटनामा नियन्त्रणका लागि वन उपभोक्ता तथा स्थानीयवासी आफँै सचेत हुनुपर्ने किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाको भनाइ छ । पछिल्लो दिनको दैनिक नै आगलागी र डढेलो नियन्त्रण र यसविरुद्धको सचेतनामा बित्दै आएको उनले बताए ।

कहीँकतै आगो लागेको देखेमा अग्निरेखा बनाई निभाउने प्रयास गर्न तथा वडा, पालिका, वन कार्यालय, सुरक्षाकर्मी लगायतका निकायमा खबर गर्न उपभोक्तालाई अपिल गर्ने गरेको उनले बताए । धूमपानपश्चात् आगोको ठुटो जथाभावी नफाल्न, राम्रो घाँस पलाउने लगायतका स्वार्थ राखेर जंगल क्षेत्रमा आगलागी हुन नदिन सबैले जिम्मेवारी पूरा गर्नतर्फ लाग्न वन कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया