रोजगार छैन, ज्याला मजदुरीमै लुछाचुडी

कालिकोट । खाँडाचक्र नगरपालिका– २ जितेबजारमा ज्याला मजदुरी गर्नेहरुको लुछाचुडी छ । सामान बोकेर आएका सवारी साधनबाट सामान झारेर झोलुङ्गे पुलबाट कर्णाली करिडोरको सडक छेउसम्म ल्याउनका लागि सामान ओसारपसार गर्नेहरुको दैनिकी भीड देख्न सकिन्छ ।
रास्कोट नगरपालिका– ६ का विनोद फँडेरा १४ वर्षका भए । ८ कक्षासम्म अध्ययन गरेका विनोद आमाको मुत्यु पश्चात पढ्न सकेनन् । विनोदका आँखाभरी आँशु थियो, गर्मीका दिनमा भारी बोकेर लुथुक्रै थाकेका विनोदका पसिना खलखल बगिरहेका थिए । सामान बोक्ने डोरी र पिठ्युमा राख्ने कपडा बोकेर गाडी नजिकै गए । विनोद जस्तै ज्याला मजदुरी गरेर खाने करिब ५०–६० जना एउटै गाडीमा झुण्डिएका थिए ।

‘सामान म बोक्छु’ भन्दै तानातान समेत गरेर हल्ला भइरहेको थियो । १४ वर्षका विनोद फडेरा पनि सामान बोक्न गए । उनले भने, ‘बुवाले जाँडरक्सी खाएर आमालाई कुटे, त्यो कुटाई सहन नसकेर आमाले मुत्युको बाटो अंगाल्न पुगिन्, आमाको मुत्युपछि मेरो पढाई ठप्प रोकियो, बुवाले अहिलेसम्म पनि जाँडरक्सी खान छोडेका छैनन्’, गहभरी आँशु निकाले ।

आफ्नो दैनिकी ज्याला मजदुरीतर्फ लागेका उनले दिनमा पाँचदेखि ६ सयसम्म कमाउने बताए । वर्ष ३५ का गम्बीरा नेपालीको घरमा १० जना परिवार छन् । साना बालवालिकालाई पढाई लेखाई गर्न धौ–धौ छ । दैलेख चामुण विन्द्रासैनी नगरपालिका– ६ बाट ज्याला मजदुरी गर्न कालिकोटसम्म पुगेकी गम्बीरा पनि त्यही भीडमा थिइन् ।

उनी १० जना परिवारलाई पालनपोषण गर्न र साना बालवालिकालाई पढाउन दैनिकी ज्याला मजदुरी गर्न जितेवजार पुगेकी हुन् । उनले भनिन्, ‘स्थानीय सरकार आए पनी हाम्रा लागि कुनै सहजता भएको छैन ।’ नातागोतालाई जागिरमा राखेर गरिब विपन्न परिवारलाई भोटबङकको रुपमा प्रयोग गरेको भन्दै अबको चुनावमा भोट नहाल्ने पनि उनले बताईन् ।

उनलाई चैत महिनाको गर्मीमा भारी बोकेर कमाएको पैसाले एक छाक मिठो मसिनो खान पनि हम्यहम्य छ । जिल्लाको रास्कोट नगरपालिका– ८ की सुशिला विक उमेरले २५ वर्ष पुगिन् । ८ जनाको परिवार रहेको शुसिलाको घरमा कसैको रोजगारी छैन । शुसिलाका श्रीमान काठ चिर्ने काम गर्छन् । बालवालिको उज्वल भविष्य गर्न र आफू जस्तै अप्ठारो भावि पुस्ताहरुलाई भोग्न नपरोस् भनेर मिहिनेत गरेको उनले बताईन् ।

जितेवजारमा दैनिक ज्याला मजदुरी गर्दै आएका विरेन्द्र सुनार लामो समयदेखि सामान ओसारपसार गर्ने काम गर्छन् । जितेवजारमा दैनिक जसो आउने सवारी साधनबाट १ सय ५० भन्दा बढीले रोजगार पाएका छन् । दैनिक ५ सयदेखि १५ सयसम्म ज्याला मजदुरी गरेर कमाउने यहाँका नागरिकहरु बिहानको झिसमिसे उज्यालोमै जितेबजार क्षेत्रमा आउँछन् ।

घरपरिवारका सदस्यहरु कसैको पनि रोजगार नुहँदा ज्याला मजदुरी गरेर खाने गरिब विपन्न तथा अन्य घरपरिवारका सदस्यहरु रोजगार खोज्दै भौतारिइरहेका छन् । स्थानीय सरकार आए पनि आफ्नो नातागोता हेरेर गाउँमै रोजगार दिए, तर रोजगार पाउनै पर्ने नागरिकहरुले भने रोजगार पाएका छैनन् ।

प्रायः भारतमा गएर जिविको पार्जन गर्ने युवाहरु स्थानिय हाटबजार जितेगडामा काम गर्दै आम्दानी गर्न थालेका छन् । जितेबजारले दैनिक १ सय ५० जनाभन्दा बढी बेरोजगारलाई रोजगार दिएको छ । विद्यालय पढ्ने उमेरदेखि बृद्धबृद्धाहरुसम्म यहाँ काम गर्न आउँछन् । २०६३ सालमा सुर्खेत जुम्ला सडकखण्ड निर्माण भएपछि कर्णाली नदिको छालमा लागेको बजारले यहाँका स्थानिय बेरोजगारी नागरिकहरुलाई १४ वर्षदेखि नै रोजगारी दिएको हो ।

कर्णाली नदिमा पक्कि पुल निर्माण नहुँदा राजमार्गबाट स्थानिय जितेबजारदेखि झलुंगेपुल तारेर सामान कामदारमार्फत ढुवानी गराउनु पर्छ । दैनिक जसो १ सय ५० जना भन्दाबढी मजदुरले अहिले जितेबजारमा काम खोज्दै भौतारिरहेका हुन्छन् । कामदारहरुले काम गर्न सकेनन् भने रातभर सडकमै सामानको हेरालो राख्नुपर्ने बाध्यता छ ।

रोजगारीको लागि जिल्लाका ९ वटै स्थानिय तह र अन्य जिल्लाबाट कामदार आउँछन् । भन्ने हो भने एक स्थानिय तहले अहिलेसम्म मजदुरलाई रोजगारी दिन सकेको छैन । स्थानिय हाटबजारले दैनिक १ सय ५० जनाभन्दा बढी बेरोजगारीहरुलाई रोजगार दिएको छ । सडक निर्माण गर्न गाउँभरी स्काभेटरको प्रयोग गरेर जनप्रतिनिधीहरुकै हालिमुहाली छ ।

गरिबहरुको वडा पालिका वा नगरपालिकामा केही गणना छैन । जोसँग पैसा छ, उनिहरुनै जनप्रतिनिधिको नजिक भएर सबै ठेक्का लिन्छन् । मजदुरी गरेर खानेसँग न पावर हुन्छ नतः पैसा । सिंहदरवारको अधिकार गाँउमा आउने हल्ला सुन्दा खुशी देखिएका नागरिकहरु अहिले दुखित बन्नु परेको छ ।

आफ्नै घरनजिक भारी बोकेर भए पनि गुजारा गरेर बसेका मजदुरहरुलाई काम पाउनै मुस्कील छ । संघीयता गरिव र निमुखाहरुका लागि हो तर, पछिल्लो समय संघीयता हुने खाने र जनप्रतिनिधिहरुका आसेपासेहरुको लागि मात्र आएको जितेबजारका व्यापारीहरुको गुनासो छ । अहिलेसम्म कुनै पनि स्थानिय तहले बेरोजगार युवाहरुलाई रोजगारी दिएर गाँउमै रोक्न सकिरहेका छैनन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया