बालविवाहविरुद्ध प्रदेशस्तरीय हातेमालो कार्यक्रम सम्पन्न

सर्लाही । वर्ल्ड भिजनको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको सहकार्यमा शुक्रबार प्रदेश २ को राजधानी जनकपुरधामस्थित होटल वेलकममा बालविवाह लगायत हानिकारक परम्परागत अभ्यासविरुद्ध सरोकारवालाबीच प्रदेशस्तरीय हातेमालो कार्यक्रम सम्पन्न भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालका प्रदेश २ अध्यक्ष मनोज यादवको अध्यक्षता तथा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री मा। ज्ञानेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको प्रदेश स्तरीय हातेमालो कार्यक्रममा किन हुन्छ बालविवाह, बालविवाहले निम्त्याउने समस्या र त्यसका समाधानका विषयमा प्रदेश सरकार र सरोकारवालाबीच गहन छलफल गरिएको कार्यक्रमका अध्यक्ष मनोज यादवले जानकारी दिए ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले भने, बालविवाह गैरकानूनी भएको र यसबाट बालबालिकाले शारिरिक, मानसिक र शैक्षिक विकासको अवसर र रहर सबै गुमाउनुपर्छ भन्ने जान्दा जान्दै पनि यस्तो गलत परिपाटीका विरुद्ध संगठित आवाज उठ्न नसकेको बताए । साथै, राज्यले कानूनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न कञ्जुस्याइँ गर्न नहुने र बालविवाह उन्मुलनका निम्ति प्रदेश सरकार तयार रहेको उनको भनाइ थियो ।

मन्तव्यका क्रममा कार्यक्रमका अध्यक्ष मनोज यादवले भने, ‘बालविवाहले बालअधिकार, महिला अधिकार र मानवअधिकारको हनन मात्रै होइन, विकास र समृद्धिको बाधक पनि हो, तसर्थ यसको उन्मुलन गर्नुपर्ने हुन्छ । मुलुक संघीयतामा गइसकेको अवस्थामा अब समाजबाट यस्ता कुप्रथाहरु सदाका लागि हटाउनुपर्छ, स्थानीय, प्रदेश र संघ सरकारले चाहेमा यो सम्भव छ ।’ अन्य सरोकारवालाले पनि यसमा हातेमालो गर्नुपर्नेमा उनको जोड थियो ।

बालविवाहको उन्मूलन गर्न विशेष गरी छोरीहरुको सशक्तीकरण गर्नुपर्ने, बालविवाह पुराना परम्परागत संस्कृति र जातीय व्यवस्थासँग जोडिएको विषय भएकोले सर्वप्रथम त्यस्ता कुसंस्कार र जातीय व्यवस्थालाई बदल्नु पर्ने धारणा उनले राखे ।

‘समुदायसँग नजिक स्थानीय सरकार रहन्छ, उसले बालविवाह विरुद्ध अभियान सञ्चालन गर्नुपर्छ, बालविवाह गर्ने–गराउनेलाई सामाजिक बहिस्कार गर्न सक्नुपर्छ, बालविवाह र दाइजोको समस्या बढी भएको समुदायका मानिसले बिना दाइजो उमेर पुगेर विवाह गर्दा सम्मान गर्नुपर्छ, बालविवाह एवं दाइजोमुक्त नेपाल निर्माण गरिनु पर्दछ’, उनले भने ।

स्त्री र पुरुषका बीचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक तथा सामाजिक कार्यलाई विवाह भनिन्छ । विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ ।

शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि नेपाल सरकारद्वारा उमेरको हदबन्दी तोकिएको हो । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बाल विवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी रहेको छ ।

कार्यक्रममा नेता तथा कार्यकर्ताहरु, सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया