नेपाल समूहले बोलायो सांसदहरूको भेला

काठमाडौं । नेकपा एमाले खनाल–नेपाल समूहले शुक्रबार दिउँसो १ बजे सांसदहरूको भेला बोलाएको छ । बिहान ११ बजेलाई डाकिएको केन्द्रीय कमिटी बैठकपछि बस्ने गरी सांसदहरुको बैठक बोलाइएको हो । बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो बोलाएको संसदीय दलको बैठकमा जाने/नजाने भन्नेबारे छलफल हुने खनाल–नेपाल समूहका एक सांसदले बताए ।

अध्यक्ष ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । एमालेका मुख्य सचेतक विशाल भट्टराईले आगामी बजेटमा विकास निर्माणका योजना कसरी समेट्ने भन्ने विषयमा दलका सांसदहरुबाट सुझाव लिने, प्रतिनिधिसभा बैठकलाई कसरी प्रभावकारी बनाउने र पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा बैठकमा छलफल हुने बताए ।

यसअघि प्रधानमन्त्रीले बालुवाटारस्थित निवासमा बैठक बोलाएको भन्दै खनाल–नेपाल समूहले बहिष्कार गरेको थियो । शुक्रबारको बैठकमा जाने नजाने भन्नेबारेमा खनाल–नेपाल समूहले सांसदहरुको भेलाबाट निर्णय गर्ने भएको छ । समूहमा रहेका अधिकांश सांसदहरुले भने बैठकमा गएर ओलीको कदमको प्रतिरोध गर्नुपर्ने शीर्ष नेताहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया