मान्छेजस्तै बोल्ने बुँख्याःचा

काठमाडौं । कथाकार रत्न प्रजापतिको नयाँ बालकथा ‘सानुकाजीको बुँख्याःचा’ बजारमा आएको छ । बालकथामा उपत्यकाको नेवार किसानको पारिवारिक परिवेशलाई चित्रसहित चित्रण गरिएको छ । किसान तुइकाजी दाइचा चराचुरुंगी तथा जीवजन्तुबाट खेतमा लगाएको धान जोगाउन बुँख्याःचा राख्छन् । मान्छेजस्तै देखिने गरी तुइकाजीको छोरा सानुकाजीको लुगा लगाएको बुँख्याःचा निकै आकर्षक देखिन्छ । उक्त बुँख्याःचा देखेर उनको जिज्ञासु छोरा सानुकाजी अनौठो मान्छ । बुँख्याःचा सानुकाजीसँग मान्छेजस्तै बोल्न थाल्छ । बुँख्याःचाको बोल्ने शैलीबाट प्रभावित भएपछि सानुकाजीले उसँग मित्रता गाँस्छ । कथामा गाईवस्तु, चराचुरुंगी एवं अन्य जनावरबाट धान जोगाउन उनीहरुले योजना बुन्छन् । कथामा कलाकार राजकुमार प्रजापतिले आकर्षक चित्र बनाएका छन् । कथा अनुसारका ती चित्रले पाठकलाई तान्न सफल भएको छ ।

कथामा समाज र संस्कृतिसँग बालबालिकालाई अन्तरघुलन गराउने र उनीहरुलाई सामाजिकरण गर्न निकै मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । विशेषगरी बालबालिकालाई आफ्नो समाज र संस्कृतिसँग घुलमिल गराउँदै उनीहरुलाई कसरी सामाजिकीकरणमा समावेश गराउन सकिन्छ भन्ने ध्येयका साथ कथाकार प्रजापतिले कथा लेखेका छन् । कथाकारका अनुसार कथामार्फत बालबालिकालाई व्यावहारिक सीप सिकाउन र समाजका बारेमा रुचि जगाउन सहयोगी हुन सक्छ ।

बालबालिकाले प्रकृति, मानव र जीवजन्तुबीचको सम्बन्धलाई बुझ्नसमेत बालकथा सफल देखिन्छ । त्यस्तै, किताबको अन्तिममा दिएको कार्यले पनि बालबालिकामा कथाबोध गर्दै सिकाइप्रति रुचि जगाउन सहयोग पुग्छ । कथालयले बजारमा ल्याएको ‘सानुकाजीको बुँख्याःचा’ ले बालबालिकाको सिकाइ र बुझाईमा मद्दत गर्ने आशा राख्न सकिन्छ । ३ देखि ७ वर्ष उमेर समूहका बालबालिका लक्षित गरे प्रकाशित ३२ पृष्ठको यस किताबको मूल्य २२५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया