लुम्बिनीमा पर्यटकको चहलपहलमा वृद्धि

सिद्धार्थनगर । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरूको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार लुम्बिनी घुम्नेमा आन्तरिक पर्यटकको संख्या नै अत्यधिक रहेको छ । कोषको तथ्यांकअनुसार बन्दाबन्दी खुलेपछि १ लाख ४१ हजार ५ सय ७९ नेपालीले लुम्बिनी भ्रमण गरेका छन् ।

यसैगरी, ५ हजार ७ सय ४८ भारतीय र १ सय २० विदेशी नागरिकले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । कोषका सदस्यसचिव सानुराजा शाक्यले नेपालको विभिन्न ठाउँबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउनेहरूको संख्या बढिरहेको बताए । कोरोनाका कारण मान्छेहरूमा सिर्जना भएको निराशा र चिन्ता हटाउन लुम्बिनीको भ्रमण फलदायी हुने पनि शाक्यले बताए ।

सामान्य अवस्थामा लुम्बिनी घुम्न आउने विदेशी पर्यटकको संख्या अत्यधिक रहने गरेकामा कोरोनाका कारण अधिकांश देशमा वैदेशिक हवाई उडान र सीमानाकामा सहज आवतजावतसमेत नरहेको हँुदा यतिबेला विदेशी नागरिक लुम्बिनी आउन चाहेर पनि आउन नसकेको पर्यटन पुनरोत्थान समिति लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले बताए ।

उनले भने, ‘लुम्बिनीको पर्यटन पुनरोत्थानका लागि हामीले नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार र पर्यटन सम्बद्ध विभिन्न निकायसँग मिलेर विभिन्न अभियान चलाइरहेका छौँ । यसले लुम्बिनी घुम्न जान मान्छेहरूलाई उत्प्रेरित गर्नेछ ।’ गत फागुन तेस्रो हप्ता लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङसमेत गरिएको थियो । साथै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मीको नेतृत्वमा पर्यटन क्षेत्रका विज्ञहरूको समूहले मायादेवी प्रसूति मार्गको स्थलगत अवलोकनसमेत गरेको थियो ।

प्रतिक्रिया