हिन्दू धर्म भित्रको जातिभेद

मुकुन्द न्यौपाने

पहिले हामीले के जान्नु जरुरी छ भने, वर्तमान हिन्दू जातिको उत्पत्ति कसरी भयो र यो जातिको प्राचीन भारतको आर्य र अनार्यसँग के के सम्बन्ध छ । हामीलाई हाम्रा धर्मग्रन्थ र इतिहासबाट के कुरा जानकारी हुन्छ भने, पहिलो वैदिक कालमा यी दुई जातिको बीच घनघोर संघर्ष चल्यो । तर, बिस्तारै बिस्तारै यी दुई जातिबीच मनमुटाव घट्दै गयो र यी एक दोस्राका नजिक हुँदै गए । यहाँसम्म कि यिनीहरूका बीच वैध होस् वा अवैध यौन सम्बन्ध पनि कायम हुँदै गयो । जुन सम्बन्ध हालसम्म पनि जारी छ । यसको फल के भयो भने, केही जंगली जातिलाई छोडेर व्राह्मणदेखि लिएर चण्डालसम्म सबै जातिको रक्त सम्मिश्रण भयो । यसले कुनै पनि जातिले यो ठोकुवा गरेर भन्न नसक्ने भयो कि, ‘म प्राचीन आर्य जातिको शुद्ध व्राह्मणको सन्तान हुँ ।’

जसलाई म शुद्ध ब्राह्मण जातिको सन्तान हुँ भन्ने लागेको छ उसले न हिचकिचाइकन ‘बज्रस च्युपनिसद’को निम्न लिखित जाति मानमर्दनसम्बन्धी उद्धरणतर्फ ध्यानपूर्वक आखाँ लगाउनु जरुरी छ । (क) ब्राह्मण, जिज्ञासु शिष्य आफ्ना गुरु ऋषिसँग सोध्छन्, ‘किंजात्या ब्राह्मण ? (के जातिको आधारमा ब्राह्मण हुन्छ ?) यो प्रश्नको उत्तरमा ऋषिवरले आफ्नो शिष्यलाई हाम्रा पूज्य वशिष्ठ ऋषि वंशहरूको बारेमा जेकुरा खुलस्त गरे त्यो उत्तर अध्ययन र मनन् गर्न योग्य छ ।

‘जातिब्र्राह्मण इति चेत तर्हि अन्य जातौ समुद्भवा बहवो महर्षयः सन्तिः । ऋष्य श्रृंगो मृग्यां जातः कौशिक कुशस्तम्वात, गौतम शशपृष्ठे वाल्मीकि वाल्मीक्यां, व्यास कैवर्तकन्यायां परा शराष्चाण्डालिगर्भाेत्पन्नः वशिष्ठो वेस्यानां विस्वामित्र क्षत्रियाणां अगस्त कलसज्यात मान्डब्यो माण्डुकि गर्भाेत्पन्न नारद दासीपुत्रः इति श्रुयते पुराणे । तेषां जातिं विनापिसम्यगज्ञानवि शेषाद ब्राह्मणत्मत्यं स्वीकृयते ततमाज्जात्या ब्राह्मणो नभभ वत्येव ।’ यसको अर्थ, यदि जातिबाट ब्राह्मण हुन्छ भने धेरैजसो ठूला महर्षिहरू अर्कै जातिमा उत्पन्न भएका छन् ऋष्यशृंग जसले दशरथको पुत्रेष्ठि यज्ञ गराएका थिए, हरिणीको गर्भबाट जन्मेका थिए । कौशिक कुश जातिबाट, गौतम खरायो जातिबाट वाल्मीकि धमिराको गोलोको माटोको थुप्रोबाट ब्यास माझीको छोरीबाट परासर चण्डालीकाबाट वशिष्ठ वेश्याबाट, विश्वामित्र क्षेत्रीयबाट अगस्त्य गाग्रोबाट, माण्डव्य भ्यागुतीबाट अनुचर हातिनीबाट भारद्वाज सुद्रिनीको गर्भबाट नारद दासीबाट उत्पन्न भएको कुरा पुराणमा लेखिएको छ । ई महर्षिहरूको ब्राह्मणत्ब जातिविना नै उत्तम ज्ञान र आचरणको आधारमा उच्चतहमा समाजले स्थापित गरेको देखिन्छ । त्यसैले जाति र जन्मको अधारमा ब्राह्मण हुन सक्तैन । वज्रशुचीको उक्त अंश केवल वशिष्ठ आदि ऋषिहरूको जातको बारेमा सिद्धगर्ने उद्देष्यले उदृत गरिएको हो । वर्ण जातको अधारमा मान्ने कि कर्मको आधारमा भन्ने कुरा फैसला गर्नका लागि होइन । यि दुई विषय अलगअलग हुन् ।

बज्रशुचीको उदाहरणमा हरिणी, हस्थिनी आदि नामका स्त्रीजातिको जुन चर्चा छ त्यो तल्ला जातिका जंगलको बासगर्ने स्त्रीतर्फ उन्मुख छ । त्यो नामधारी जंगली जनावर हैनन् किनकि जनावरबाट मान्छे जन्मदैनन् । आजभोलि पनि पिछडिएको जातिको स्त्रीहरूमा विलैया सुगिंया कवुतरी बनकरिया आदि नाम पाउन सकिन्छ । अरू खरायो जाति र कुशबाट भनिएका शब्दहरूको वारेमा के अनुमान गर्न सकिन्छ भने तीनलाई उत्पन्न गर्ने मातापिताले तिनलाई जन्माए र आफ्नो कुकर्म लुकाउन कसैलाई जंगलमा कुसको झाडीमा लगेर राखिदिए कसैलाई घ्याम्पोमा लगेर जंगल किनारमा छोडिदिए । कसैलाई कोक्रोमा हालेर पानीमा बगाइदिए । जो अहिले पनि अवैध गर्भ लुकाउन बच्चाहरू फ्याक्ने गरेको कुरा छ्यापछ्याप्ति सुनिन्छ । यस्ता कुकर्मी आमाबाबुको कारण ती बालक जहाँ जेमा फेला परे त्यसकै नाममा उनीहरूको जातिकरण भयो ।
जब यस्ता महान भनिएका वरिष्ठ ऋषिहरूको त यो हाल छ भने तिनैका सन्तान हौँ भनेर ज्ञानको शून्यतामा निम्छरा जनताको अगाडि अहंकारले तिघ्रा ठटाउँदै हिँड्ने आजका ज्ञानहीन पण्डित कर्मकाण्डी पुरेतको के हाल होला ? पुराना ऋषिहरूमा वशिष्ठ, परासर, विश्वामित्र, कौसिक, भारद्वाज, गौतम आदिको नाम विशेष महत्वको चर्चामा छ । कारण यी महाऋषिहरू तल्लो जातिमा जन्मेर पनि ब्राह्मण वंशका प्रवर्तक थिए । यिनकै नामबाट चलेको गोत्र ब्राह्मणमा प्रचलित छ र त्यसलाई सम्मानको दृष्टिकोणले हेरिन्छ ।

जति पनि ब्राह्मण प्रवर्तक महर्षिहरू छन् उनमा महर्षि वशिष्ठ एक विषेशस्थान राख्तछन् । यिनी सूर्यवंशीय क्षेत्री राजाका परमपूज्य कुलगुरु थिए जसको चरणमा शिर राख्न पाउँदा स्वयं रामचन्द्र पनि आपूmलाई परम भाग्यमानी र पूज्यमान भएको ठान्दथे । यी महर्षि वशिष्ठको हामी गोत्र उच्चारण हेराँै । जस्तो कि माथि नै भनियो वशिष्ठ वेश्या पुत्र थिए । उनले यक्षमाला नामकी तल्लो जातकी महिलालाई आफ्नो स्त्रीको रूपमा अर्धांगिनी बनाए । हिन्दू जातिको महत्वपूर्ण ग्रन्थ मनुस्मृतिमा भनिएको छ, यक्षमाला वशिष्ठेन संयुक्ता धम योनिजा
सारंगी मन्दपालेन जगामाभ्यर्हणियताम् । (९.९३)

अर्थ, तल्लो जातमा उत्पन्न यक्षमालाले वशिष्ठसँग र सारंगीले मन्दपालसँग संयुक्त सम्बन्ध जोड्नाले यिनीहरूले पूज्यता प्राप्त गरे । संभवतः यिनै अक्षमाला पछि अरुन्धतीको नामबाट प्रख्यात भइन् । किनकि महर्षि वशिष्ठका दुई स्त्रीको वर्णन गरेको कहीँ पनि पाइँदैन । यिनै यक्षमालाको गर्भबाट वशिष्ठका पुत्र शक्तिको जन्म भयो ऋषि शक्तिले कुनै स्वपाकि (कुकुरको मासु सेकुवा बनाएर खाने चण्डाल स्त्री) को गर्भबाट परासरलाई जन्म दिए । परासरले केबट कन्या शत्यवतीबाट जगत विख्यात महर्षि व्यासलाई उत्पन्न गरेर आफ्नो जीवन सार्थक पारे ।
माहाभारतका निम्नलिखित श्लोकलाई ध्यान दिनुहोस् र वज्रसूचीको पूर्वाेक्त उद्धरणसँग यसलाई अथ्र्याएर हेर्नुहोस् ।

गणिकगर्भसंभूतो वशिष्ठश्च महामुनीः ।
तपसा ब्राह्मणो जानः संस्कारस्तस्त्र कारण सम्मुखः जातो व्यासस्तु कैवत्र्याः स्वपाक्यास्तु परासरः ।
बहवो न्येपि विप्रत्यं प्राप्ताये पूर्वमद्विजा ।।
अर्थात, माहामुनि वशिष्ठ वेश्याका गर्भबाट उत्पन्न भए तर उनले तपस्याका कारण ब्राह्मणत्व प्राप्त गरे । त्यहाँ जन्म होइन, संस्कार नै मूलकारण बन्यो । ब्याश कैवर्ती केवट कन्याबाट परास र चान्डालीबाट जन्मेका थिए । यिनीहरू जस्तै पहिले धेरै ऋषिहरू अब्राह्मण थिए । पछि कर्म र साधनाकै कारण ब्राह्मणत्ब प्राप्त गरे ।
माहाभारत आदिपर्वमा सत्यवती भिष्मसँग भन्दछिन्, ‘यो ब्यस्य वेदांस्चतुरतपसा भगवानृषिः । लोके ब्याशत्वमापेदे काष्र्यात् कृष्णत्वमे वच । अर्थात, ‘हे भगवान ऋषि तपस्याको प्रभावबाट चारै वेदका ब्यास अर्थात विभाजन गरेर ब्यास नाम र कालो हुनुको कारण कृष्ण नामले पनि प्रसिद्ध छौ ।

पुनस्चः–ब्यास शत्यवतीसँग भन्दछन्, यदि पुत्रः प्रदातव्यो मया भ्रातुर कालिक । विरुपतां मे सहतां तयो रेतत् परं व्रतम् । यदि मे सहते गन्धं रुपं वेशं तथा वयुः अद्यैव गर्भ कौशल्या विशिष्ट प्रतिपद्दताम् ।

अर्थात, शत्यवतीले ब्यासलाई आफ्ना पुत्रवधु विधवा अम्बिका र अम्बालिकामा नियोग रीतिबाट पूत्र उत्पन्न गर्न बोलाइन् । ब्यासले भने दुवै विधवा एक वर्षसम्म व्रत गरून् । त्यसपछि यिनीहरू पवित्र हुन्छन् । तर, शत्यवती चाहान्थिन कि उनीहरूबाट छिटो पुत्र उत्पन्न होस् । त्यसबारेमा ब्यासले भने, यदि ढिला नगरी भाइ विचित्रविर्यको मलाई पुत्र दिनुछ भने तब रानीहरूले मेरो कुत्सित रूपलाई सहन सक्नुपर्दछ । यो नै उनीहरूका लागि महाव्रत हुनेछ । यदि कौशल्या मेरो रूप र वेशभुषालाई सहन गर्छिन् भने आजै गर्भ धारण गरून् ।

यो माथिको चर्चा ती ब्राह्मणहरूको हो, जो तल्लो जातिका महिलाको गर्भबाट जन्मिएर उच्च ब्राह्मण कुलमा नाम स्थापित गरे । ऋष्यशृंग, कौशिक, गौतम, वाल्मीकि, ब्यास, वशिष्ठ, अगस्त्य, नारद ई सबै तल्लो जातका महिलाबाट जन्मिएका सन्तान हुन् । हामी आजका ब्राह्मणहरू यिनीहरूकै नामबाट गोत्र राखेर गर्व गरिरहेका छौँ र कसको गोत्र ठूलो भनेर बंशावली निकाल्ने होडबाजीमा लागिरहेका छौँ । यता आफ्नै छिमेकमा रहेका आफ्नै नागरिकलाई अछुत भनेर दुरदुर गर्दै छौँ ।

अलिकति भारतमा उत्पन्न ब्राह्मण र तिनको अवस्थाको बारेमा विचार गरौँ :
भारतका सवालाखे ब्राह्मण : भारतमा कसैले ब्राह्मण भनेर नगनेका मानिसहरू पनि आजठूलो संख्यामा ब्राह्मणधारी नामबाट खडा छन् । बर्सेनि तीर्थ जानेहरूले यस्ता ब्राह्मणहरूको बारेमा अध्ययनको अ पनि गरेका छैनन् । तीर्थ धाउनेहरूले त्यसबारेमा अहिलेसम्म खासै चर्चा गरेको पाइएको छैन ।

भारतमा यस्ता पनि ब्राह्मण छन् जसलाई सवालाखे ब्राह्मणको नामबाट चिनिन्छ । माधोगढका राम नाम गरेका राजाले अनेक जातिका अछुत भनेर हेला गरिएका डेढलाख मान्छे भेला गरेर सबैलाई जनै लगाइदिएर ब्राह्मणसँगै राखेर खानपान गराए । यिनैलाई सवालाखे ब्राह्मण भनियो । यीभित्र डोम, चमार, मुसहर, ततमा सबैवर्ण सामेल थिए । विशेष विवरण हेर्नुछ भने रजनीकान्त शास्त्रीको हिन्दूजातिको उत्थान र पतन पढ्नुहोस् अरू धेरै विरणहरू जान्न चाहानुहुन्छ भने ‘ब्राह्मण निर्णय’ ग्रन्थको पृष्ठ ५३४ पढ्नुहोस् ।

यि सबालाखे ब्राह्मणहरू विद्याबाट पूर्णरूपमा वन्चित थिए । यिनीहरूलाई कसरी ब्राह्मणको रूपमा टिकाउने जटिल व्यावहारिक समस्या थियोे । माधोगढका राजाले छिमेकी राज्यहरूमा सम्बन्ध बढाएर यिनीहरूलाई मन्दिर सरसफाइ गर्ने पुजारीको सहयोगीको रूपमा नियुक्त गराए । भारतका मन्दिरमा पछि पण्डाको रूपमा यिनै सबालाखे ब्राह्मणहरू स्थापित भए । पूर्वजहरू चमार, दुसाद भए पनि आज उनीहरू भारतका ठूलाठूला मठ र मन्दिरहरूमा भक्त तीर्थयात्री ब्राह्मणहरूलाई टाउकोमा हात राखेर आशीर्वाद दिँदै पैसा तानिरहेका छन् । गया पितृश्राद्ध गर्न जाने नेपालका ब्राह्मणहरू तीनै सवालाखे सन्तानकै हातबाट तर्पण पिण्डदान गरेर फर्कन्छन् ।

भोजपुर, सहादावाद्, वेलौटी, रामागढ, विहार, अगरौली, वलिया, युपीका केही यस्ता ब्राह्मण पनि बस्दछन्, जो यादव जातिबाट आएका छन् । ‘ब्राह्मणोत्पत्ति मार्तण्ड’ नामको बृहत् ग्रन्थमा केही यस्ता ब्राह्मणको पनि उत्पत्ति लेखिएको छ जो मूलतः अभिल्ल थिए । (ब्राह्मणोत्पत्ति मार्तण्ड पृष्ठ ३४७) उनीहरू अभिल्ल अथवा अभिर ब्राह्मण भनिन्छन् । दक्षिण भारतका ब्राह्मणहरू भट्ट र उत्तर भारतका ब्राह्मणको मतभेद हेर्ने हो भने त्यो झन् एकअर्काका विपरीत र बिरोधी छन् । तमिल्नाडुतिर राम र रावणलाई हेर्ने धारणामै चर्काे मतभेद छ । भारतमा रामायण मात्रै २५ वटाभन्दा बढी लेखिएका छन् र ती सबैका अलगअलग व्याख्या छन् । सीतालाई रामले बनिबास पठाएकै बारेमा १० वटाभन्दा बढी व्याख्या गरेको पाइन्छन् । अयोध्याकाण्डमा वाल्मीकि रामायण सकिन्छ सीता त्यागेको कुरा पनि जवाली ऋषि र रामको विवादमा रामले बुद्धको निन्दा गरेका छन् ब्राह्मणहरू रामलाई बुद्ध अगाडिको अवतार घोषित गर्छन् ।

त्यस्तै दक्षिण भारत र उत्तर भारतका पण्डितहरूको बीचमा झगडा छ । कतिसम्म भने श्राद्धमा उत्तर भारतकाले पहिले तर्पण दिएर पछि पिण्डदान गर्छन् । दक्षिण भारतकाले पहिले पिण्ड दिएर पछि तर्पण गर्छन् । यसैमा उत्तर र दक्षिणका ब्राह्मणबीच पानी बाराबार छ । त्यस्तै विवाह र खानपिनको बारेमा भिन्नता देखिन्छ । दक्षिण भारतमा मासु वर्जित गरिएको छ भने मामाको छोरीसँग विवाह गर्न छुट छ । उत्तर भारतमा मासुखान छुट छ भने मामाको छोरीसँग विवाह गर्न बन्देज छ । त्यहाँ त्यसो गरेमा हाडनाता करणीभित्र पर्छ । भारतीय पंडितले नीति आचार संहिता बनाएरै यसरी भागबण्डा गरेका छन् । ‘दक्षिणे मातुली कन्या उत्तरे मांश भोजनम्, अर्थात, दक्षिणमा मामाको छोरीलाई कन्यावरण गर्नका लागि छुट छ भने उत्तरमा मासु छुट गरिएको छ ।

प्रतिक्रिया