कोरोना : दोस्रो लहरको आशंका

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने चेतावनी जनस्वास्थ्यविद्हरुले दिएका छन् । दक्षिणी छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहर देखिने संकेत मिलेको भन्दै त्यो लहर नेपालमा पनि आउन सक्ने चेतावनी दिएका हुन् । विगतमा पनि भारतमा कोरोना संक्रमण उच्च भएपछि नेपालमा पनि देखिएको थियो । दुवै देशमा खोप अभियान सञ्चालन भएपनि त्यसले पूर्णरुपमा छेक्न नसक्ने उनिहरुको भनाई छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं नेपालमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने चेतावनी दिएका छन् । यद्यपी पछिल्लो समय नेपालमा दैनिक संक्रमणदर करिव १ सयको हाराहारीमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

जनस्वास्थ्यविद् रविन्द्र पाण्डे पनि संख्यात्मक हिसाबले संक्रमण कम देखियो भन्दैमा सावधानी अपनाउन छोडेमा छिमेकी राष्ट्र भारतमा झैँ नेपालमा पनि नयाँ संक्रमित वृद्धि हुन सक्ने बताउँछन् । भारतका महाराष्ट्र, मध्यप्रदेश, गुजरातमा बुधबारदेखि रात्रिकालिन कर्फ्यू जारी गरेको छ । महाराष्ट्र, तमिलनाडू, पञ्जाब, मध्यप्रदेश, दिल्ली, कर्नाटक, हरियाणा, गुजरात लगायतका राज्यमा पछिल्लो समय संक्रमितको संख्या एक्कासी बढेको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

संक्रमण दर उच्चविन्दुमा पुगेर क्रमशः ओरालो लागेका देशमा धमाधम संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन घोषणा गरिएको छ । फ्रान्सले पछिल्लो समयमा कोरोनाभाइरसको संक्रमण पहिलेको तुलनामा निकै बढेपछि बढी प्रभावित विभिन्न १६ वटा राज्यमा लकडाउन घोषणा गरेको हो ।

संक्रमित दर कम भए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियुमा भर्ना हुने बिरामीको संख्यामा कमी आएको छैन । कोरोना संक्रमण भएर कात्तिकमा ६१, मंसिरमा ५७, पुसमा २७, माघमा २८ र फागुनमा ३० जना आइसियुमा भर्ना भएका थिए । तर, समुदायमा कोरोना संक्रमण दर कायम भए पनि स्वास्थ्य सुरक्षामा हेलचेक्य्राइँ गर्नेहरूको संख्या बढेको जनस्वास्थ्यविद्हरुको चिन्ता छ ।

विशेषगरी भोजभतेरमा सामूहिक रुपमा सहभागी भएका २५÷२६ जनालाई एकैपटक कोरोना संक्रमण भएको अस्पतालमा उपचाररत बिरामीमार्फत थाहा पाएकोसमेत सरुवा रोग अस्पतालका कर्मचारीले बताए । विश्वमा कोरोनाभाइरसको नयाँनयाँ प्रजाति देखापरेको छ । जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा अपनाएको खण्डमा नेपालमा जुन खालको कोरोनाभाइरसको प्रजाति आए पनि केही नहुने उनिहरुको विश्वास छ ।

सरकारले समुदायमा संक्रमणबारे थाहा पाउन सातवटै प्रदेशबाट ३ हजार १ सय ५० वटा रगतको नमुना संकलन गरेको थियो । सेरो–प्रिभिलेन्स सर्भे गर्दा १३.९ प्रतिशतमा कोरोनाभाइरस विरुद्धको एन्टिबडी बनेको पाइएको थियो । सर्वेक्षणमा बागमतीमा करिब २२ प्रतिशत र सबैभन्दा बढी २ नम्बर प्रदेशमा करिब २८ प्रतिशतमा एन्टिबडी बनेको देखाएको थियो । विगतमा जनस्वास्थ्यका मापदण्ड अपनाएर जोगिएका भए पनि अब सावधानी नअपनाएमा संक्रमण हुन सक्नेतर्फ उनले सचेत बनाए ।

नेपालमा कोरोनाविरुद्धको खोप भित्रिए पनि सर्वसाधारणको पहुँचमा खोप पूर्णरुपमा पुगेको छैन । त्यसैले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुको विकल्प नभएको जनस्वास्थ्यविद् पाण्डे बताउँछन् । कोरोनाविरुद्धको खोप निर्माण भए पनि कोरोना संक्रमण केही होइन भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनको भनाइ छ । खोप सर्वसाधारणको पहुँचमा नपुगेकाले जोखिम कायम रहेको उनले बताए ।

भारतमा कोरोना संक्रमण दर पछिल्लो समय बढेको छ । अन्य मुलुकमा समेत कोरोना संक्रमणको दर पछिल्लो समय एक्कासी बढ्न थालेको छ । यस्तो अवस्थामा भारत लगायत अन्य राष्ट्रबाट स्थल र हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्नेलाई सधैं निगरानीमा राख्नुपर्ने देखिएको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेशन, क्वारेन्टिन परीक्षणको व्यवस्था गरिरहेको जनाएको छ ।

प्रतिक्रिया