माध्यमिकी परिक्रमा टोलीलाई भव्य स्वागत

जलेश्वर । मिथिलाको महाकुम्भ मानिएको माध्यमिकी परिक्रमालाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा भव्य स्वागत गरिएको छ । शनिवार धनुषाको कचुरीस्थित मिथिला विहारी कुटीबाट मिथिला विहारी तथा जनकपुरस्थित अग्नि कुण्डका किशोरीजीको डोला साथ धार्मिक विधिअनुसार जानकी मन्दिर हुँदै धार्मिक झाँकी भजनकीर्तनसहित सुरु भएको परिक्रमा आइतबार सीमावर्ती भारतीय गाउँ कलानेश्वरमा, सोमबार भारतकै गिरिजास्थान (फुल्हर), तेस्रो दिनको विश्राम मङ्गलबार महोत्तरीको मटिहानीमा र आज बुधबार महोत्तरीको सदरमुकाम जलेश्वर आइपुग्दा परिक्रमालाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् ।

बाजा, गाजा, साधु, नागा, नाचगानका साथ भगवान राम र माता जानकीको डोला लिएर लाखौँको सङ्ख्यामा महोत्तरीको जलेश्वर प्रवेश गरेका परिक्रमालाई जलेश्वरवासी तथा महोत्तरी प्रशासनले पूजापाठ गरी भव्य स्वागत गरेका छन् ।

जलेश्वरवासीले ठाउँठाउँमा परिक्रमा यात्रीका लागि निःशुल्क भोजन, पानी, दाउरा, बिजुलीको व्यवस्था मिलाएको छ । सहभागीहरु आज जलेश्वरमा चौथो पराव, मडैमा पाँचौँ, धु्रवकुण्डमा छेटौँ र कञ्चनवनमा सातौँ दिनको बास बसेर आठौँ दिन पुनः धुनषाको पर्वतामा बस्नेछन् ।

त्यसपछि धनुषाधाम, औरही, विशौल हुँदै पुनः भारतको कलानेश्वर र फागु पूर्णिमाको दिन जनकपुर फर्कने छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले सहभागीको सुविधाका लागि १५ वटै विश्रामस्थलमा बिजुली, खानेपानीलगायतको व्यवस्था मिलाएको छ ।

नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्मयमा यी विश्रामस्थलका पौराणिक एवं धार्मिक महत्वबारे छुट्टाछुट्टै प्रकाश पारिएकाले यी स्थलप्रति भक्तजनमा अटुट आस्था रहेको पाइन्छ ।

मिथिला महात्म्यअनुसार १८औँ शताब्दीदेखि यो धर्म यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमि पैदलयात्र तय गर्ने परम्परा छ । परिक्रमामा भारत अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, बैजनाथधामका साधुहरु उल्लेख्यरुपमा सहभागी भएका छन् ।

फागुन शुक्ल प्रतिपदाको शुभसाइतबाट प्रारम्भ हुने यो धर्मयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागुन पूर्णिमा तिथि पारी समापन गरिने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ । मिथिला महात्मयअनुसार अठारौँ शताब्दीदेखि माध्यमिकी परिक्रमा मनाइँदै आएको र यस धर्मयात्राका सहयात्रीले रात्रि भजनकीर्तन गरी १५ दिन बिताउने गर्दछन् ।

लामो समयसम्म चल्ने धार्मिक यात्रा परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एकएक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमा बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।

सुख, समृद्धि, मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ति हुने यस यात्राका सहभागीको विश्वास रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा निर्माण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा शुरु गरिएको हो । मिथिलाको महाकुम्भसमेत नामाकरण गरिएको यस परिक्रमा यात्रामा नेपाल भारतका हजारौँ साधुसन्त, महन्थ र गृहस्थलहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया