राष्ट्र बैकका उच्च कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकहरू नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्र डेपुटी गभर्नर नियुक्त भएपछि सबैजसो विभागका नेतृत्वमा जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र ऋण व्यवस्थापन विभागमा बैंकिग विभागका नरेश शाक्य र विदेशी विनिमय विभागमा जनशक्ति व्यवस्थापन विभागका रामु पौडेललाई लगिएको छ । पौडेलले यसअघि केन्द्रीय बैंक मातहतको वित्तीय जानकारी इकाइमा समेत रहेर काम गरिसकेका छन ।

अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टलाई बैंक सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ । अर्थमन्त्रालयमा काजमा रहेका लघुवित्त संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठलाई अनुसन्धान विभागको कार्यकारी निर्देशकमा पदस्थापन गरिएको छ । श्रेष्ठ अहिले अर्थमन्त्री विष्णु पौडेलको सल्लाहकार भएर अर्थमन्त्रालयमा काजमा छन् । श्रेष्ठ अर्थमन्त्रालयमा काजमा रहेकाले वरिष्ठ निर्देशकका रूपमा डा.रामशरण खरेलले अनुसन्धान विभागको कायममुकाय प्रमुखको रूपमा काम गर्ने भएका छन ।

विकास बैंक सुपरिवेक्षण विभागका ऋषिकेश भट्टलाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको प्रमुख बनाइएको छ । वित्त व्यवस्थापन विभागका प्रदीपराज पौडेललाई भने विकास बैंक सुपरिवेक्षण विभागमा लगिएको छ । लघुवित्त संस्था सुपरिवेक्षण विभागमा यसअघि सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका सुमनकुमार अधिकारीलाई लगिएको छ । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका रामबहादुर मानन्धरलाई बैंकिग विभाग र मुद्रा व्यवस्थापन विभागका दयाराम शर्मा पंगेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा पदस्थापन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया