सहिद स्मृति गोल्ड कप : क्यामरुनी टोली सेमिफाइनलमा

हेटौँडा । खेलको अन्त्यतिर २ गोल गर्दै मंगलबार पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (एआरएस) हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको सेमीफाइनल पुगेको छ । एआरएसले तीन मिनेटको फरकमा २ गोल गरेपछि बागमती युवा क्लव सर्लाहीमाथि २–१ ले जित हासिल गरेको थियो । यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि एआरएसले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

४ मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमा लोयसले एआरएसलाई निर्णायक गोल गरेका थिए । त्यसअघि ८९ औं मिनेटमा केचाको फ्रिकिकलाई बासेकले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । त्यसअघि खेलको २५ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समिरले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपनि पाहुना टोलीले सुधारिएको र संयमित खेल प्रदर्शन गरेको थियो ।

म्यान अफ दी म्याच एआरएसका मोसाले १० हजार रुपैयाँ प्राप्त गरे । बागमती क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले खेलमा अग्रता लिएर पनि दबाबमा खेल्नुपरेको बताए । ‘हामीले लिड गरेको अवस्थामा त्यसलाई जोगाउन सकेनौं’, उनले भने, ‘क्यामरुनले पहिलो गोल गर्ने बित्तिकै हाम्रा खेलाडी निराश भए । खेल्नुपर्ने जति खेलेकै हो तर पनि जित्न सकेनौं ।’

एआरएसका व्यवस्थापक आशिक थापा मगरले लामो यात्रा गरेर आएका आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । विदेशी टोली सोमबार मात्रै हेटौडा पुगेको थियो । ‘बागमतीले पनि धेरै राम्रो खेलेको हो’, उनले भने, ‘हामी जित्न आएका हौं । खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै पहिलो खेलमा जित निकाल्न सफल भएका छौं ।’

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा घरेलु टोली मकवानपुर ११ ले लिग च्याम्पियन मछिन्द्र क्लबको सामना गर्दैछ । चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपासिहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया