खोजखबर

भारतीय बजारले अम्रिसोकोे मूल्य बढ्यो

देवेन्द्र कार्की २०७७ चैत ४ गते ७:०३ मा प्रकाशित

पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रूपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष बढेको छ । नेपालमा उत्पादित अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य आकासिएको हो । विगतमा प्रतिवटा ४० रुपैयाँका दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा सयदेखि १ सय ३० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । अम्रिसो कुचोको मूल्य गत वर्षको तुलनामा तीन गुणा बढेको सुनसरी धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनका अनुसार गएको वर्षमा ४० रुपैयाँका दरले बिक्री गर्न पनि कठिनाइ भएकोमा अहिले मूल्य बढ्दा किसानलाई राहत भएको छ । उनले भने, ‘अम्रिसो कुचो भारतीय मजदूरले प्याक गरेर भारत लाने गरेका छन्, नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने अम्रिसो कुचोको ठूलो बजार भारत हो । अहिले भारततर्फ कम्तीमा पनि ९० प्रतिशत अम्रिसो निर्यात भएको छ ।’

पहिले विदेश त्यति निर्यात नहुने गरेको अम्रिसो केही वर्ष यतादेखि भारतीय बजारमा माग बढ्दा यता नेपाली बजारमा मूल्य बढेको हो । सामान्य पाखो जमीनमा उत्पादन हुने अम्रिसो कुचोको भाउ यस वर्ष सोचेभन्दा उच्च भएपछि कृषक भने खुसी भएका छन् । कतिपय किसान अम्रिसो खेतीमा लाग्न थालेका छन् । धरान–२० विष्णुपादुकाको तामाखाममा करीब पाँच बिघा जग्गाको पाखो भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो वर्ष मूल्य राम्रो पाउँदा खुसी भएका छन् । ‘यसमा हाम्रो केही मिहिनेत हुँदैन । एकपटक रोपेपछि धेरै वर्षसम्म केही गर्नुपर्दैन । पाखा बारीमा लगाएको अम्रिसोले राम्रै आम्दानी ग¥यो,’ कृषक राईले भने । एकपटक रोपेपछि करिब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लगाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । भाउ बढ्यो भने फाइदैफाइदा छ । यो वर्ष कुचोको भाउ बढेकाले कृषक निराश हुनु नपरेको कुचो व्यवसायी बिनोद कुलुङले बताए ।

विनोद कुलुङ, दीपक साहलगायतले धरानको कृषिउपज बजारमा कुचो बिक्री गर्दै आएका छन् । उनीहरूले कृषकबाट अम्रिसो संकलन गरी भारतीय बजारमा पठाउने गरेका छन् । अहिले भारतीय बजारमा यसको निर्यात बढ्न थालेपछि धेरै किसान तथा व्यवसायी अम्रिसोको उत्पादन व्यवसायमा लागेका छन् । कृषिउपज बजारका व्यवस्थापक भट्टराईका अनुसार चालु आर्थिक वर्षको फागुनको पहिलो सातासम्ममा ४ हजार ५ सय मेट्रिक टन अम्रिसो कुचोको कारोवार भएको छ । हालकै मूल्य कायम रहे ५६ करोड रुपैयाँभन्दा बढीको आम्दानी हुने बजारले अनुमान गरेको छ । कुचो चैत र वैशाखसम्म बिक्री हुन्छ । गत वर्ष २ हजार ६ सय ९९ मेट्रिकटन कुचो बिक्री हुँदा १५ करोड रुपैयाँ मात्र आम्दानी भएको थियो ।

कुचोको मुख्य याम माघबाट सुरु भई वैशाखसम्म आउने गर्छ । नेपालमा उत्पादन भएकामध्ये १० प्रतिशत मात्र यहाँ खपत हुने गरेको कृषिउपज बजारको अध्ययन छ । अम्रिसो व्यवसायी विनोद राईले फागुन पहिलो सातासम्ममा करिब १० टन अम्रिसोको कारोबार भएको बताए । यो वर्ष उनले मात्रै १३ लाख रुपैयाँको कारोवार गरेको बताए । सामुदायिक वन क्षेत्र वा निजी जग्गामा रोपिएको अम्रिसो खेतीबाट किसानले वार्षिकरूपमा लाखाँैको आम्दानी गर्ने गरेका छन् । सामुदायिक वन क्षेत्रको नांगो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत कृषकले बनाएका छन् । अम्रिसो खेतीमा कम लगानी, कम मिहिनेत र बढी आम्दानी हुने स्रोत हो ।

अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कातर्फ पात खुवाउँदा गाई भैँसीको दूध बढ्ने स्थानीय किसानले बताए । ‘गाईबस्तुका लागि पोसिलो घाँस मानिन्छ,’ कटारी नगरपालिका–१३ की सावित्री राउतले भनिन्, ‘फूलको कुचो बनाएर बिक्री गर्दा घर खर्च टर्ने पैसा कमाउन सकिन्छ । परिवारलाई पालन–पोषण, शिक्षादीक्षा दिन र चाडपर्वमा खर्च गर्नसमेत अम्रिसोबाट आम्दानी भएको छ ।’ अम्रिसोको फूल तयार हुने बेला व्यापारी गाउँघरमै पुग्ने भएकाले बिक्रीका लागि किसानलाई सजिलोसमेत भएको छ । अम्रिसो कुचोका लागि मात्र नभएर अम्रिसो पर्यटकको आकर्षण पनि बन्न थालेको छ । इलामको निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउँदै आएको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको स्थानीयले बताए । यहाँको २ सय २५ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ ।

इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ । व्यावसायिक अम्रिसोखेतीको अध्ययन अनुसन्धान गर्नेहरू रुचिसाथ अम्रिसोको बगानमा पुग्ने गरेको स्थानीय बताउँछन् । दैनिक चारदेखि २० वटा समूहसम्मका पर्यटक काउलेडाँडा पुग्ने गरेका छन् । हिमाली सुन्दर दृश्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन सफल बनेको छ । डाँडाको वन क्षेत्रको अम्रिसोखेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीय बासिन्दालाई अम्रिसोको फूलबाट दुई÷चार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैँसी पालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रूपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीयले बताए । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।

पूर्वी नेपालका पहाडी धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरीक्षेत्रमा उत्पादित कुचो धरानमा संकलन हुन्छ । अम्रिसो कृषकबाट जस्ताको त्यस्तै कच्चा मालको रुपमा थोक मूल्यमा खरीद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरूले थप ब्राण्डिङ, प्याकेजिङ गर्ने र ५० किलोका बण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको कृषि उपज बजारका व्यवस्थापक भट्टराईले बताए ।

भारत निर्यात भएपछि बण्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पु¥याउने गरिन्छ । व्यवसायीका अनुसार त्यसको मूल्य दोब्बर हुने गरेको छ । बजार व्यवस्थापक भट्टराईले भने, ‘नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने हो भने वार्षिक अर्बौं रुपैयाँको कुचो भारत निर्यात गर्न सकिन्छ । तर त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी छ ।’

नेपालको भौगोलिक बनावटअनुसार अम्रिसो कुचो खेती गर्ने प्रशस्त ठाउँ रहेको छ । पहाडी क्षेत्रमा यस कुचोको राम्रो उत्पादन हुने गरेको छ । तर भारतीय बजारमा यसको माग अधिक भएको सूचना नपाउँदा कृषकले उत्पादन गरेको कुचो त्यत्तिकै खेर गएको छ । उत्पादन भएको अम्रिसो कुचोलाई ब्रान्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने काम नेपालमा व्यवस्थापन गर्ने हो भने यसले राम्रो आम्दानी नेपाल भित्र्याउन सकिने व्यापारीहरू बताउछन् ।

नेपाली अम्रिसो भारतको पश्चिम बंगाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यमा जाने गरेको छ । आर्थिक वर्ष ०७४÷७५ मा पूर्वी नाका हुँदै ४२ करोड २६ लाख ५६ हजार रुपैयाँकोे १३ हजार २ सय ८ टन अम्रिसो निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्यांकमा उल्लेख छ ।

विकिपिडियाका अनुसार अम्रिसोलाई लामो डाँठ हुने एक प्रकारको घाँस भनेको छ । यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त पाइन्छ । अम्रिसो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकको मुख्य आम्दानीको एक स्रोतमध्ये पर्ने गरेको छ । बनस्पति जगतको फूल फुल्ने प्रजातिअन्तर्गत अम्रिसो पर्दछ ।

अम्रिसोलाई स्थानीयरूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस मानिन्छ । यस घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेका कतिपय रोगको सम्भावना कम हुन्छ । अम्रिसो एकपटक लगाएपछि १०–१५ वर्षसम्म हरियो घाँस दिइरहन सक्दछ । यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ । यस्तै यसका जरा माटोमा राम्ररी फैलिएर जाने भएकाले भू–संरक्षणका लागि पनि यो उपयुक्त हुन्छ । अम्रिसोको खेती धेरै पहिलोदेखि नेपालका पूर्वी पहाडी क्षेत्रमा गरिँदै आएको भए पनि हाल यसको खेती अन्य जिल्लामा समेत बिस्तार भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय