पारिजातको जीवनी लेखन

काठमाडौं । चर्चित साहित्यकार पारिजातको सम्पूर्ण जीवनी समेटिएको पुस्तक लेखन पूरा भएको छ । साहित्यकार गोविन्द गिरी प्रेरणाले लेखेको उक्त पुस्तकमा पारिजातको साहित्यिक तथा व्यक्तिगत पक्षलाई केलाइएको छ । प्रेरणाका अनुसार उक्त पुस्तक नेपालको एक प्रतिष्ठित प्रकाशन गृहबाट प्रकाशनका लागि अनुबन्ध भइसकेको छ ।

दार्जिलिङमा जन्मिएकी पारिजातले नेपालमा बसेर करिब डेढ दर्जन पुस्तक प्रकाशित गरेकी थिइन् । उनले ९ वटा उपन्यास, ५ कथा संग्रह, ३ कविता संग्रह, ३ आत्मकथात्मक कृति लेखेकी थिइन् । नेपाली साहित्यमा साढे चार दशकदेखि सक्रिय प्रेरणाले पारिजातको जीवनी लेखन कार्य पूरा गर्न २० वर्ष लागेको सुनाए ।

नेपाली साहित्यमा दुई दर्जन बढी कृति प्रकाशन गरिसकेका प्रेरणाले पारिजातको जीवनी लेखनका लागि निकै मिहिनेत गरेको बताए । उनले यो काम सम्पन्न गर्न पारिजात बारेमा प्रकाशित सामग्री संकलन, स्थलगत भ्रमण र सम्बन्धित पचासौं व्यक्तिसँग अन्तर्वार्ताको माध्यमबाट सामाग्री स्रोत संकलन गरेको जानकारी दिए । उनले लामो समय कष्टसाध्य अध्ययन अनुसन्धान गरेर जीवनी तयार पारिएको बताए ।

पारिजातको जीवनी लेखनमा उनका नातेदार, शुभेच्छुक, साहित्यकार एवं अन्य मित्रले प्रकाशित अप्रकाशित सामग्री, चिठीपत्र, डायरीका पाना, समाचारका कटिङ तथा फोटो प्रदान गरेर सहयोग गरेको लेखक प्रेरणाले सुनाए । यसअघि विभिन्न लेखकले जीवनी लेखे पनि आफूले बिस्तृत रुपमा पारिजातको जीवनी प्रस्तुत गरेको बताए । पुस्तकमा कतिपय नयाँ तथ्यलाई समेटिएको जनाउँदै कतिपय भ्रमलाई तथ्य र प्रमाणले गलत प्रमाणित गर्ने प्रेरणाले जिकिर गरे ।

प्रतिक्रिया