इतिहास शिरोमणिको स्मरण

काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उनको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ । आचार्यको १३४औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचारगोष्ठी’ का वक्ताले राष्ट्रका विभूतिका रुपमा रहेका इतिहासकार आचार्यको योगदान तथा उनका सिर्जनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहासशिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उनको योगदानलाई चीरकालसम्म सम्झने गरी पुरस्कार लगायतका विविध विषयबाट सम्बोधन गर्न मन्त्रालयले नीतिगत कार्यक्रम ल्याउने जिकिर गरे ।

उनले भने, ‘आचार्य भौतिक रुपमा नरहे पनि उहाँका इतिहाससम्बन्धी कालजयी कृतिले सदैव जीवित रुपमा स्मरण गराइरहेको छ ।’ सचिव कोइरालाले इतिहासमा योगदान दिने व्यक्तिलाई नै इतिहासले सम्झने हो बताए । उनले भने, ‘आचार्यजस्ता इतिहास, साहित्यका सर्जकको संरक्षण गरी अन्तर्राष्ट्रिय प्रवद्र्धन गरिनुपर्दछ । सगरमाथाको नामाकरण गर्ने आचार्यको जीवन, संघर्षपूर्ण हुँदाहुँदै उहाँले दिएको ज्ञान सदा चीरस्मरण हुन्छ, राज्यले दिएको महत्त्वपूर्ण विधाको पद हो शिरोमणि । त्यसैले आचार्य त्यस्तो व्यक्तित्व हुनुहुन्छ जसको मृत्युपश्चात पनि उहाँको योगदानको उचित कदर र स्मरण हुने गरेको छ ।’ उनले इतिहासविद् आचार्यजस्ता विभूतिलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने भनेर नीति आवश्यक रहेको र मन्त्रालय त्यसदिशातर्फ अघि बढेको जानकारी दिए । उनले भने, ‘भूगोल र इतिहासलाई जोडेर प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइने छ ।’ इतिहासशिरोमणि आचार्य तिनै व्यक्ति हुन् जसले सर्वोच्च शिखर सगरमाथाको नामाकरण गरेका थिए । नेपाली साहित्यको इतिहास विधामा आचार्यको अतुलनीय योगदान छ । आचार्यको स्वदेश तथा विदेशमा पनि उत्तिकै चर्चा हुन्छ । सचिव कोइरालाले साहित्य, इतिहासको योगदानलाई संरक्षणका लागि राज्यले विशेष ध्यान दिने पनि बताए । उनले आचार्यको योगदानको कदर स्वरुप स्मरणलाई जीवन्त तुल्याउन पुरस्कार स्थापनाका साथै अन्य किसिमका कार्यक्रम पनि अघि बढाउन मन्त्रालय सकारात्मक रहेको जिकिर गरे । मन्त्रालयले पुरस्कारका लागि १० लाख बजेट विनियोजन गरेको र तीन विधामा दिइने उक्त पुरस्कार यसैवर्ष प्रदान गर्नका लागि आवश्यक कार्यविधि बनाइने जानकारी दिए ।

प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले कार्यक्रमको विषय प्रवेश गर्दै नेपालको इतिहासलाई प्रमाणिक बनाउन भूमिका खेलेका आचार्यले नेपाली साहित्यको समालोचनालाई माथि पु¥याउन पनि विशिष्ट योगदान दिएको बताए ।
पूर्वराजदूत एवं स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर आचार्यले इतिहासशिरोमणि आचार्य लगायतका स्रष्टाका संक्षिप्त पहिचान झल्कने गरी नेपालका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गरिनुपर्ने बताए । उनले आचार्यका बारेमा थप खोज तथा अनुसन्धान गरी युवापुस्तामा ज्ञान हस्तान्तरण हुनुपर्ने धारणा राखे ।
बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इतिहासशिरोमणि आचार्यको युगान्तकारी स्मरणका लागि विशेष पुरस्कार स्थापना गर्ने कुराले इतिहासशिरोमणि स्मृति प्रतिष्ठान हर्षित र गौरवान्वित भएको बताए ।
‘इतिहासको आलोकमा बाबुराम आचार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. सुरेन्द्र केसीले विलक्षण प्रतिभाका धनी इतिहास शिरोमणि आचार्यको योगदानलाई चीरस्मरण बनाउन राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले आचार्यका हरेक कृतिले ज्ञानका पारखीलाई दिशाबोध गर्नुका साथै अध्ययनमा प्रोत्साहन गर्ने बताए । आर्थिक दूरावस्था र कठिनतम जीवनदशाका बीचबाट पनि बाबुरामको जीवन संघर्ष उत्कर्षतर्फ लम्कियो । विसं २००८ मा आचार्यलाई तत्कालीन राज त्रिभुवनबाट इतिहास शिरोमणिको पदवी प्रदान गरिएको थियो । विसं २०२० सालमा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कार र २०२८ सालमा राजा महेन्द्रबाट ‘गोर्खा दक्षिणबाहु’ तेस्रो प्रदान गरिएको थियो । आचार्यको सम्मान स्वरुप हुलाक टिकट निकालिनुका साथै सडकमार्ग नामाकरण आदि काम भएका छन् । विसं १९६३ मा बनारसबाट प्रकाशित सुन्दरी पत्रिकामा प्रकाशित मालिनी विला शीर्षकको कविता नै बाबुरामको प्रथम रचना थियो । उनले उक्त कविता १९ वर्षको उमेरमा लेखेका थिए । आचार्यको ८५ वर्षको उमेरमा पहिलो साहित्य कृति ‘तुलनात्मक सुन्दरकाण्ड’ प्रकाशित भयो । आचार्यका ‘भानुभक्त झ्यालखानामा र सगरमाथा वा झामो–लोङमा’ जस्ता थुप्रै साहित्य र इतिहास लगायतका विविध विषयक लेख–रचना प्रकाशित भएका छन् । उनको ६३ वर्षको उमेरमा दुवै आँखा पूर्णतः निस्काम भई दृष्टिविहीन भएका थिए । काठमाडौंको सिनामंगलमा विसं १९४४ फागुन २९ मा जन्मिएका आचार्यको विसं २०२९ गते भदौ २१ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया