सिरहा मालपोत कार्यालय बम विस्फोट अपडेट : घाइतेको संख्या ९ पुग्यो

सिरहा । सिरहाको लहान नगरपालिका– ८ स्थितमा रहेको मालपोत कार्यालय लहानमा आज दिउँसो १ः३० बजे प्रेसरकुकर बम विस्फोट भएको छ ।

विस्फोटबाट घाइते कार्यालयका नायब सुब्बा शिव कुमार यादव, सेवाग्राही धनगढीमाइ १३ भोला बहादुर पाछे मगर, धनगढी ४ का दिनेश कुमार भण्डारीको अवस्था चिन्ताजनक रहेको छ, गोलबजार ४ की फुल कुमारी ठाकुर, गोलबजार ६ की बेचनी मगर, लक्ष्मीनारायण मगर, लहान नपा– १६ तरेगनाका लाल बहादुर बिक, भगवानपुर ३ आव्हेनगर बद्री नारायण यादवलगायत ९ जनालाई उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) तपन दहालले जानकारी दिए ।

सुरक्षाकर्मीहरु मालपोत कार्यालयभित्र विस्फोटका अवशेषहरु संकलन गरीरहेका छन् । विस्फोटमा संलग्न समूहबारे कुनै प्रमाण घटनास्थलबाट बरामद नभएको डीएसपी दहालले बताए । पर्चा पम्पलेट वा अन्य कुनै प्रमाण भेटिएको छैन । अन्य घाइतेहरुको परिचय खुलिसकेको छैन ।

भीडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजीक प्रेसरकुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ कसले राखेको बारे केही खुल्न सकेको छैन। विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो । लहान नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रण लिएको छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो बनाइएको छ ।

विस्फोटक पदार्थ कसले राखेको हो खुल्न सकेको छैन । डीएसपी दहालका अनुसार घटना कसरी भयोबारे बुझ्दै छन् घटनास्थल इलाका प्रहरी कार्यालय लहानबाट एक सय मिटर उत्तरमा छ । इलाका प्रहरी कार्यालयको सामुन्ने व्यस्त स्थानमा भएको विस्फोटले लहानबासीलाई त्रसित बनाएको छ ।

प्रतिक्रिया