मेयर्स कप : फाइनलका लागि पुलिस र एपीएफ तयार

काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट २०७७ को फाइनलमा शनिबार त्रिवि क्रिकेट मैदानमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीच प्रतिस्पर्धा हुदैछ । नेपाल क्रिकेट संघ क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरेको प्रतियोगितामा पुलिस र एपीएफसहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए ।सिंगल राउण्ड रोविन लिगको खेलपछि शीर्ष दुई स्थानमा रहेका पुलिस र एपीएफ फाइनल पुगेका हुन् । दुवैले लिगमा चारमध्ये समान ३ खेल जितेका थिए । तर नेट रनरेटको आधारमा पुलिस शीर्ष स्थानमा र एपीएफ दोस्रो स्थानमा रहँदै उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

बागमती प्रदेश तेस्रो, त्रिभुवन आर्मी क्लब चौथो र काठमाडैं मेयर ११ पाँचौ भएको थियो । लिग चरणमा एपीएफले पुलिसलाई १ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिसलाई त्यो हारको बदला लिने अवसरसमेत छ । शुक्रबार भएको प्रि फाइनल कन्फ्रेन्समा नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ र एपीएफका कप्तान शरद भेषावकरले फाइनलका लागि तयार रहेको बताए । एपीएफका कप्तान शरदले फाइनल खेललाई नयाँ खेलको रुपमा लिएर खेल्ने बताए । ‘टिमले अहिलेसम्म पूरा इफोर्ट लगाएर खेलिरहेको छ । कन्फिडेन्स लेभल राम्रै छ । कन्सिस्टेन्स खेलिराछ’ शरदले भने, ‘यसअघि पीएम कपमा फाइनलमा ब्याड गेम भएको थियो । यसपटक अगाडि नै ब्याड गेम भयो । त्यसैले फाइनलअघि राम्रो फिलिङ छ ।’

एपीएफले लिगमा पुलिससँग हार व्यहोरे पनि त्यो विगत भइसकेको कप्तान भेषावकर बताउँछन् । ‘लिगमा जे भए पनि भोलि नयाँ गेम हुनेछ । खेलाडीहरु पहिलो खेलदेखि नै केही घाइते थिए तर उनीहरुले राम्रै खेलिराखेका छन् । फाइनलअघि सबै उत्साहित छन्’ उनले भने ।
शरदले व्यक्तिगत रुपमा दबाब नलिएको र सामूहिक प्रदर्शन भए खेल जित्न सकिने बताए । यस्तै पुलिसका कप्तान मन्जितले पनि तयारी राम्रो भएको भन्दै सबैजना फाइनल खेललाई लिएर उत्साहित रहेको बताए । ‘टिमको तयारी राम्रो छ । टिम मेम्बर उत्साहित छन् । फाइनलमा राम्रो गर्छौं भन्नेमा विश्वास छ । हामी नर्मल रुपमा आफ्नो गेम खेल्छौं । हामी आफ्नो खेलमा कन्फिडेन्ट छौं’ उनले भने । एपीएफ राम्रो टिम हो भन्दै मन्जितले जित्ने योजना अनुसार खेल्ने बताए । उनले आफ्नो भन्दा टिमको जित महत्वपूर्ण हुने भन्दै टिम गेम खेल्ने बताए । फाइनलमा बलिङ भन्दा ब्याटिङमा राम्रो गर्नुपर्ने कप्तान मन्जितले बताए । मेयर्स कपको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउनेछन् ।

प्रतिक्रिया