सबैभन्दा धेरै घेराबन्दी ममाथि भएको छ : प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित शब्द आफैंमा विद्रोह भएको बताएका छन । रुपन्देहीको बुटवलमा शुक्रवार राष्ट्रिय दलित पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा एकपछि अर्के गर्दै अस्वाभाविक घटना भइरहेको बताए । उनले भने, ‘म के ठान्छु भने शब्द मुख्य कुरा छैन । आन्दोलन मुख्य कुरा हो । दलित भन्नुको अर्थ अन्याय, अत्याचार, शोषण उत्पीडनका विरुद्ध संघर्ष हो । आत्मसम्मानका निम्ति आन्दोलन हो ।’

अध्यक्ष प्रचण्डले अहिलेसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धीलाई उल्ट्याउनका लागि षड्यन्त्र गरिएको बताए । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयास गरिएको उनको भनाई थियो । ‘तर, ती उपलब्धीलाई कुल्चिने प्रयास भए ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्न विरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ,’ उनले भने । अध्यक्षले भने, अहिले विश्वभर चलिरहेको छ कलरफुल रिभोलुशन । क्रान्तिलाई पुरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेको छ । परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।’

सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले आश्चर्यमान्दै भने, यस्तो अचम्म पनि हुँदोरहेछ । यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’

अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेरावन्दी आफुमाथि भएको पनि बताए । ‘प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपाराउने देशी विदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले सबैभन्दा धेरै घेराबन्दी ममाथि भएको छ ।’

प्रतिक्रिया