त्रिपुरासुन्दरी मन्दिरका संरचना निर्माणमा बजेटभन्दा धेरै काम

डोल्पा । यहाँको त्रिपुरासुन्दरी मन्दिरमा विभिन्न संरचना निर्माणकार्यका लागि निकासा भएको बजेटभन्दा धेरै काम भएको छ । केन्द्र र प्रदेश सरकारलगायतका निकायबाट विभिन्न शीर्षकमा आएको रु दुई करोड सात लाख ३५ हजार ९९७ बजेटमा रु दुई करोड ३३ लाख आठ हजार ४७ खर्च गरिएको अक्षयकोष समितिले जनाएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा समितिका अध्यक्ष लक्ष्मीकान्त उपाध्यायले केन्द्र र प्रदेश सरकारलगायत विभिन्न निकायबाट प्राप्त रकममा रु २६ लाख ४४ हजार रकम बराबरका धेरै काम गरिएको बताए ।

‘मन्दिरमा खौलादेखि मन्दिरसम्म रेलिङ, खप्तडबाबा पदमार्ग र हरिकृतन मन्दिर निर्माणलगायतका काम गर्दै जाँदा रकम नपुगेपछि उधारो काम गरिएको हो, प्राप्त बजेटभन्दा १३ प्रतिशत धेरै काम भएको छ’, उपाध्यायले भने । तोकिएकोभन्दा धेरै काम गर्दै जाँदा थप रकम खर्च भएको उनको भनाइ छ ।

मन्दिरमा संरचना निर्माणका लागि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट आव २०७५–७६ र ०७६–०७७ गरेर रु एक करोड पाँच लाख बजेट र केन्द्र सरकार र सांसद विकास कोष गरेर रु ६५ लाख प्राप्त प्राप्त भएको समितिले जनाएको छ । उधारो रकम पूर्तिका लागि समितिले विभिन्न निकायमा सहयोगको आह्वानसमेत गरेको छ ।

खप्तडबाट पदमार्ग निर्माणका लागि प्रदेश सरकारबाट जारी आवमा पुनः रु ५० लाख रकमसमेत आएको बताइएको छ । सरकारी निकायबाट प्राप्त विकास बजेटबाट तोकिएकोभन्दा धेरै काम गर्ने जिल्लाकै पहिलो आयोजना र समिति भएको सरोकारवाला निकायको भनाइ छ ।

नगरप्रमुख ओमबहादुर बुढासहितका सरोकारवाला व्यक्तिको उपस्थितिमा मन्दिरको सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो । नेपालकै प्रशिद्ध मन्दिरमध्ये पर्ने वाला त्रिपुरासुन्दरी मन्दिरलाई सरकार देशका १०० पर्यटकीय गन्तव्यको सूचीमा समेत राखेको छ ।

प्रतिक्रिया