धारामा चैत्र १५ बाट मेलम्चीको पानी

काठमाडौं । उपत्यकाबासीको खानेपानीको धारामा चैत्र १५ गतेबाट मेलम्चीको पानी आउने भएको छ । फागुन १० गते मेलम्चीको पानी पहिलो पटक सुरुङमार्ग हुदै सुन्दरीजल आइपुगेको थियो । त्यहाबाट परीक्षण गरेर चैत्र १५ गतेबाट काठमाडौंका बासिन्दाको घरमा रहेको खानेपानी पाइपबाट पानी वितरण गर्न लागिएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने जानकारी दिएको छ । सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट विहिवारदेखि बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । आयोजना प्रमुख तिरेश खत्रीका अनुसार सुरुङ भरिन ३–४ दिन लाग्ने छ ।

सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने खत्रीले जानकारी दिए । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ । तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।

अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण पनि यथावत रहनेछ । सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षण हुने लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । केन्द्रको परीक्षण सकिएपछि नयाँ र पूरानो दुवै पोखरीमा पानी पठाइनेछ । नयाँ पोखरीमा गएको पानीले पाइपको परीक्षण गरिनेछ भने पूरानो पोखरीको पानी तत्काल प्रणालीमा जानेछ । पुरानो पोखरीको पानी पुरानो पाइपमार्फत वितरण हुनेछ ।

‘यसो गर्दा पानी प्रशोधन केन्द्रको परीक्षण पनि हुन्छ’ खत्रीले भने,‘३ वर्षअघि नै बनेको पानी प्रशोधन केन्द्रको परीक्षण हुन नसक्दा खरिद सम्झौता सक्रिय छ, ठेकदारलाई आयोजनाबाट विदा गर्न पनि प्रशोधन केन्द्रको परीक्षण गरिहाल्नुपर्ने अवस्था छ ।’ अहिलेसम्म सुख्खा मौसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ । अब १७ करोड लिटर थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ ।

सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ । वर्षायाम लागेपछि भने एकपटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने उनले बताए । पोखरीमा कति मात्रामा पानी उपलब्ध हुन्छ त्यहीअनुसार दैनिक एक÷दुई घण्टासम्म पानी वितरण गरिने लिमिटेडले जनाएको छ । परीक्षणका क्रममा समस्या नआएको पाइएमा हेरेर पानीको परिमाण बढाउँदै जाने गरी योजना बनाइएको छ । लिमिटेडअन्तर्गतका सबै शाखा कार्यालयको आआफ्नो सामाजिक सञ्जालबाट कहिले कहिले पानी वितरण गर्ने भनी जानकारी दिने तयारी भईरहेको छ । सोही माध्यममा नै पानी नआउँदा सम्पर्क गर्ने व्यक्तिको समेत टेलिफोन नम्बर राखिनेछ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८–१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ । अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको निर्देशक कमलकुमार श्रेष्ठले जानकारी दिए । ९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने उनको भनाइ छ ।

प्रतिक्रिया