यौन दुव्र्यवहारपछि जर्नेल बर्खास्त

काठमाडौं । नेपाली सेनाका सहायक रथी पंकज कार्की संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुव्र्यवहार गरेपछि बर्खास्तीमा परेका छन् । संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति कार्कीलाई नेपाली सेनाले बर्खास्त गरेको हो । कार्कीलाई एक साताअघि नै बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यौन दुव्र्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् । सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको स्रोतले बतायो । जर्नेल कार्कीमाथि गत वर्ष संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिँदा एक जना महिला सैनिक अधिकृत र त्यसपछि नेपाल आएर २८ नम्बर बाहिनीपतिमा रहँदा अर्को महिला सैनिकलाई यौन दुव्र्यवहार गरेको अनुसन्धानमा पत्ता लागेको हो ।

‘नेपाली सेनामा यौन दुव्र्यवहार जस्ता विषयमा शून्य सहनशीलता छ । कसैले गल्ती गरेको पत्ता लागेपछि सेनाको ऐन, नियमअनुसार कारबाही हुन्छ,’ प्रवक्ता पौडेलले भने, ‘कार्कीलाई पनि सैनिक ऐन, अनुशासन र आचारसंहितालाई टेकेर कारबाही गरिएको हो ।’ सैनिक स्रोतका अनुसार जर्नेल कार्कीले आफ्नो यौन दुव्र्यवहारको विषय सहायक बाहिनीपति रामचन्द्र कार्कीले बाहिर ल्याएको भन्दै अन्तरिक छानबिन सुरु गराएका थिए । दुईबीच विवाद भएपछि उक्त घटना मध्य–पूर्वी पृतनामा पुगेको थियो ।

दुव्र्यवहारको घटना र दुई जनाको द्वन्द्वको विषय पृतनाले केन्द्रमा जानकारी गराएपछि सैनिक मुख्यालयले त्यस घटनाको विषयमा छानबिन गरेको थियो । ‘उक्त छानबिनको दौरानमा जर्नेल कार्कीसहित उनीसँग जोडिएका अन्यको पनि मोबाइल फोन र त्यसको म्यासेजलाई हेरिएको थियो । जसमा पंकजको सम्पूर्ण कुरा बाहिर आयो’, सैनिक स्रोतले भन्यो, ‘त्यसपछि उनीसँग संलग्न अन्यलाई पनि बोलाएर सोधियो । र, उनी दोषी भएको प्रमाणित भयो ।’

प्रतिक्रिया