महारुद्र थानलाई पर्यटकीय गन्तव्य बनाइने

गण्डकी । पोखरा महानगरपालिका–३३ बरपाण्डेथुमस्थित ३२५ वर्ष पुरानो महारुद्र थानलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल थालिएको छ । धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङलगायत हिमालका साथै पोखरा र लेखनाथका रमणीय तालसहित अन्य भूभाग एकसाथ अवलोकन गर्न सकिने सो ठाउँको प्रवर्द्धन र विकासका लागि पहल थालिएको हो ।

धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्दै यसलाई पर्यटकीय नगरी पोखराको अर्को महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न ऋषेश्वर भुवाइ (ऋतु) का अध्यक्षतामा महारुद्र पर्यटन प्रवर्द्धन समिति गठन गरिएको छ । समितिका उपाध्यक्षमा राधिका आचार्य, सचिवमा मनु कार्की, सहसचिवमा दीपेन्द्र आचार्य र कोषाध्यक्षमा केशवराज आचार्य रहेका छन् ।

समितिका सदस्यमा भोजराज शर्मा पौडेल, जगत्राज आचार्य, गोविन्दराज लम्साल, गोपाल गुरुङ, कृष्णप्रसाद आचार्य, मीना भण्डारी र लीला नेपाली रहेका छन् । समितिले समाजका २५ उच्च प्रतिष्ठित व्यक्तिलाई सल्लाहकारका रूपमा चयन गरेको छ ।

महारुद्र थानको विशिष्ट ऐतिहासिक महत्व रहेको बताउँदै अध्यक्ष भुवाइले विभिन्न अध्ययन तथा अनुसन्धानबाट ३२५ वर्षअघि जुम्लाबाट आएका एक व्यक्तिले महारुद्रको शिलालाई झोलामा बोकेर ल्याई यहाँ स्थापना गरेको पाइएको जानकारी दिए ।

बरपाण्डेथुम र आसपासका सर्वसाधारणले आराध्यदेवका रूपमा परापूर्वकालदेखि पूजाआजा गर्दै आएको महारुद्र थानमा आगामी दिनमा शिव महापुराण लगाउँदै विशाल महारुद्रको मूर्तिसहितका संरचना निर्माण गर्ने दीर्घकालीन लक्ष्य लिइएको उनले बताए ।

लामो समयसम्म सामान्यरूपमा शिला पूजा गर्दै आइएकामा विसं २०२५ मा सानो ढुङ्गाले छाएको मन्दिर स्थापना गरिएको र विसं २०५४ मा हालको मन्दिर निर्माण गरिएको जनाइएको छ । पर्यटकीय विकासलाई लक्ष्य गरी गुरुयोजना तयार गर्न लागिएको र मन्दिरलाई शिव पाञ्चायनका रूपमा प्यागोडा शैलीमा निर्माण गर्ने, भ्यूटावर बनाउनेलगायत सोच रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया