विश्वलाई नेपाली खाना चिनाउने भान्से

नेपालीहरूमा भान्सेका काम गर्नेलाई समान्य रूपमा लिइन्छ । भान्सेको काम ठूलो होइन, भन्नेहरू नै भान्साका पाकेको परिकार नखाएर बाच्नै सक्दैनन् । तर, त्यही भान्सेले विश्वमा नाम र दाम कमाउँछभन्दा चाहिँ चाख लगाएर सुन्ने गरिन्छ । हामीले पाउने स्वस्थ्य जीवनको प्रमख स्रोत हो भान्सा, अहिले त भान्सा पेट भर्नका लागि मात्रै सीमित छैन नयाँ नयाँ परिकारको स्वाद लिने ठाउँ पनि हो भान्सा । एक नेपाली गाउँले युवा त्यही भान्सा चलाएर विश्वमा कसरी चिर्चित हुनसक्दा रहेछन् भन्ने देखाएका छन् सन्तोष साहले ।

सिरहाको करजन्हामा एक सामान्य परिवारमा जन्मिएका सेफ सन्तोषलाई थाहा थिएन कमजोर मान्छेले यति ठूलो सफलता हात पार्न सक्ला भनेर । एक भान्सेले सफलताको यो शिखर चुम्छ भन्ने के थाहा उनलाई ? उनी तिनै नेपाली भान्से हुन्, जसले बेलायतको चर्चित प्रसारण संस्थाद्वारा प्रवद्र्धित ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ का उपविजेता बने । विश्वभरमा आज सेफ साहको चर्चा चुलिएको छ । प्रतियोगितामा पाककलामा उत्कृष्ट प्रदर्शन गर्दैसाह चर्चित बनेका हुन् । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई उँचो बनाउन भूमिका खेलेका छन् ।

संसारभरका १ सय १ प्रतिस्पर्धीले भाग लिएको प्रतियोगिताको ‘ग्रान्ड फिनाले’ सम्म पुग्ने अन्तिम तीनमा साह पनि एक थिए । ग्रान्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका उनी दोस्रो भए । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशंसा बटुलेका थिए । चार महिना चार दिन अवधिको सोमा साहले सुरुदेखि अन्तितसम्म निर्णायकको मन जित्न सफल भए । प्रतियोगिता अवधिभरका सबै खानाका परिकार आकर्षक भएकाले सफलता मिलेको साहको भनाइ छ ।

विश्वचर्चित सञ्चारमाध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । यो उनको कल्पना भन्दा बाहिरको सफलता हो । विश्व बजारमा नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएका साहले खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउनका लागिपर्ने बताए । उनले बेलायतमा छिट्टै रेस्टुरेनट सञ्चालन गर्ने र नेपालमा पनि खोल्ने योजना बनाएका छन् । उनी भन्छन्, ‘जति उपलब्धि छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ । जब म प्लास्टिकको झोला र पाउरोटी बेच्थेँ, त्यतिबेला पनि खुसी थिएँ, अहिले यो सफलतामा पनि खुसी नै छु,’ उनी सफलतामा खुसी छन्, र यसलाई अझ अगाडि बढाउन पर्छ भन्छन् । उनी आफ्नी आमा सुमारीदेवीलाई भेट्न आइतबार ‘मदर्स डे’मा जन्मघर करजन्हा जाँदै छन् । नेपालका धनगढी, जनकपुरलगायत शहरमा प्रेरणास्पद प्रवचन दिन जाने पनि उनको कार्यक्रम छ ।

उनले ‘फुड इन हाइजिन’ लाई ध्यान दिएर विदेशी पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्न सके नेपालको लागि फाइदा पुग्ने बताए । देशभित्र भान्से र खानाले महत्व नपाएका अवस्थामा यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ संघर्षको यात्रा सुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानका लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए ।

साहको संघर्ष : करजन्हा–४ को सामान्य किसान परिवारका पाँच दाजुभाइ र दुई दिदीबहिनी गरी सातमध्ये सबैभन्दा कान्छा उनी करजन्हादेखि लण्डनसम्मको संघर्ष र सफलताको जीवन यात्रामा अनेकन आयाम छन् । साहले भने, ‘म जस्तो भान्सेले यत्तिको सफलता पाउँछ भन्ने सोचेकै थिइन तर अदम्य साहस र निरन्तरताको लगावले मलाई सफलतातिर डो¥यायो ।’ यो सफलता हासिलका लागि उनले अनेक संघर्ष गरेका आएको बताए । उनका दाजुभाइमध्ये केही नेपालका बर्दिबास र सिन्धुली, डुमे्र तथा अमेरिकामा होटेल र अन्य व्यापारव्यवसायमा संलग्न छन् ।

उनले पाँच वर्षको कलिलै उमेरमा बुबा सीताराम सुडी गुमाए । घरको कमजोर आर्थिक अवस्थाका कारण साहले १० वर्षको उमेरदेखि काम गर्न थालेको बताए । सिरहा बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको दिनहरू उनको स्मरणमा ताजै छ । नेपालमा कक्षा १० सम्म अध्ययन गरेका ३५ वर्षीय साह एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात हानिएका थिए । भारतमा उनले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माझ्ने काम सुरु गरे । एकपछि अर्को होटलमा काम गरेर नयाँ अनुभव बटुल्दै अघि बढे उनी । कामकै सिलसिलामा विभिन्न परिकार पकाउन सिके । पकाउन जानेर मात्रै हुँदैन भाषाको ज्ञान पनि चाहिन्छ भन्ने बुझेका उनले अंग्रेजी भाषाको ज्ञान लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने । त्यस बीचमा उनले धेरै संघर्ष गरे ।

सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीका सहयोगीले साहलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । त्यही प्रस्तावलाई स्वीकार गर्दे उनी सन् २०१० मा बेलायत गएर एक रेस्टुरेन्टमा काम गर्न थाले । बेलायतकै ललित होटल र भारतको बनारसमा समेत उनले काम गरे । दुःख, संघर्ष र सफलताले साहको जीवन बदलिएको छ । अहिले उनले सफल सेफको परिचय बनाएका छन् ।

गुजरातदेखि लन्डनसम्मः साहले भारतको लायन हिल्स रिसोर्टमा १६ महिना काम गरे । शुरुमा पाँच महिना भाँडा धुने काम गरे, त्यसपछि सेफ बन्ने अवसर पाए उनले । सोही समयमा उनले तन्दुरी बनाउने काम सिके । काममै सिरलसिलामा उनलाई अर्को रेष्टुरेण्टमा काम गर्ने अवसर मिल्यो । कामका दौरानमै साहले भारतको चेन्नइबाट अंग्रेजी भाषा र कम्प्युटर कोर्स समेत गरे । भारतमा अनुभव बटुलेपछि बेलायतको राजधानी लण्डन पुग्ने अवसर उनलाई जुट्यो । लन्डनमा ‘दि स्पाइसी अफेयर्स’ रेष्टुरेण्टमा सेफका रूपमा उनले काम गरे । एक वर्षका अवधिमा अरू दुई रेस्टुरेन्ट परिवर्तन गरे । बनारस भन्ने रेस्टुरेन्टमा तीन वर्ष काम गरे । हाल उनी ‘सिनामन ग्रुप’ अन्तर्गतको रेस्टुरेन्टमा काम गर्छन् । लन्डनमा साततारे होटलभन्दा रेस्टुरेन्टको सेफको ‘भ्यालु’ हुन्छ । उनले त्यो बुझेका छन् ।

साह पाँच वटा भाषामा आफ्नो कामकोे अनुभव समेटी पुस्तक प्रकाशन गर्दै छन् । पेन्गुइन पब्लिकेसनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । उनले खानाको विश्वव्यापी मार्गचित्र बनाइएको जनाउँदै लन्डनबाटै प्रवचन सुरु गरिने जानकारी दिए । सरसफाइ र स्वच्छतालाई अभियानकै रूपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ भन्ने उनको ठम्याइ छ ।

अन्तिम प्रतिस्पर्धामा भान्से साहले राँगाका मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेसको थालमा पस्किएका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रूपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए । उनलाई नेपाली कुन समुदायमा के खाना विशिष्ट छ भन्ने कुराको राम्रो ज्ञान पनि छ । त्यसैले उनले प्रतियागितामा सकेसम्म धेरै नेपाली खानालाई स्थान दिएको पाइन्छ ।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ साहको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशविदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् । ‘म सिम्पल खाना बनाउँछु, नेपालीहरू अति नै सिम्पल छौँ, नेपालीपन नेपाली मनका साथ मौलिक खानाको परिकारको प्रस्तुतिले मेरो सफलता मिलेको हो,’ नेपाली भान्से साहले भने । उनकोे विचारमा नेपालीको विशेषता नै सरलीकृत जीवनशैली हो र आतिथ्यका क्षेत्रमा नेपालीले मात्रै विश्वलाई जित्न सक्छ । यति बेला साह आफू मात्रै सफल भएका छैनन, विश्वसामु नेपाललाई चिनाएका छन् ।

प्रतिक्रिया