एमाले : दुई गुटको छैन बोलचाल

काठमाडौं । २३ फागुनको सर्वोच्च अदालतको निर्णयपछि पुनःस्थापित नेकपा एमालेमा दुई गुट सक्रिय हुन थालेका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष गुटबीच केही स्थानमा झडप समेत शुरु हुन थालेको छ । तर, एमाले पुनःस्थापित भएको ४ दिन बितेपनि दुवै पक्षबीच औपचारिक रुपमा छलफल हुन सकेको छैन ।

नेता नेपाल अध्यक्ष ओलीले आफुहरुलाई छलफलका लागि बोलाउनुपर्ने अडानमा रहनु भएको छ । बुधबारको संसद बैठकपछि बाहिरिने क्रममा सरकारको निरन्तरताका विषयमा सोधिएको प्रश्नमा भने, ‘मलाई सरकारका मान्छे भन्छन् तर मलाई नै थाहा छैन ।’ आफुसँग सरकारका मानिसहरु कुरै गर्न नआएको प्रतिक्रिया पनि दिए । एमाले केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आफूलाई केही थाहा नभएको उनको भनाई थियो ।

वरिष्ठ नेता नेपालको भनाईले नै एमालेभित्र अझै पनि दुई पक्षबीच बोलचाल नभएको स्पष्ट देखिन्छ । ओली पक्षपनि तत्काल नेपाल पक्षसँग वार्ता गर्ने मुडमा देखिएको छैन । आफ्नै सरकार गिराउन हालका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर गएको, ओलीलाई नै पार्टीको साधारण सदस्यबाट हटाएको र आफु अध्यक्ष बनेको जस्ता विषयले दुई पक्षबीच सम्बन्ध चिढिएको हो । तर, नेता नेपालको जन्मदिन २३ फागुनमा भने प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बधाई दिएका थिए । त्यसयता भने दुई नेताबीच छलफल हुन सकेको छैन ।

एमाले बनेपछि ओलीले वेवास्था गरेको आरोप लगाईरहेको नेपाल पक्षले बुधबार नयाँ बानेश्वरको एक होटलमा आफु पक्षिय नेताहरुको भेला गरेको छ । स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसदहरु उपस्थित त्यो बैठकले पार्टीभित्रको एकता मजबुत बनाउन अध्यक्ष ओलीले भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । ‘अब पार्टीलाई कसरी एकतावद्ध, संगठित बनाएर लैजान सकिन्छ, त्यो विषयलाई ध्यानमा राखेर छलफल भएको छ’, बैठकपछि नेता रघुजी पन्तले भने, ‘हामीले के अपेक्षा गरेका छौं भन्दा पार्टी अध्यक्षले छिट्टै यसविषयमा विभिन्न कमिटीहरु, सचिवालयको बैठक पनि बोलाउनु होला । त्यहा छलफल गरेर यसविषयमा ठोस रुपले अगाडी बढ्नुपर्यो । पार्टीलाई एकताबद्ध बनाउने कुरामा निर्णायक भूमिका उहाको (ओली) हुन्छ ।’

समुहको भेलाले पार्टी कार्यकर्तालाई संयममित, एकताबद्ध र जुझारु हुन आग्रह समेत गरेको छ । बामपन्थी सरकार नै बनाउनुपर्ने वा टिकाउनुपर्ने निष्कर्ष पनि नेपाल पक्षले निकालेको छ । ओली नेतृत्वको सरकार जोगाउने विषयमा ठोस निर्णय नगरेपनि माओवादी सम्मिलित सरकार बनाउनुपर्ने निष्कर्ष निकालेको हो । ‘सरकार चाँही बामपन्थीहरुको कायम राख्नुपर्छ, बनाउनुपर्छ’, नेता पन्तले भने, ‘तत्काल पार्टी एकता सम्भव होला नहोला तर बाम एकताको सरकार बनाइराख्न पार्टीले पहल गर्नुपर्यो ।’

ओली पक्षले तत्काल माओवादी केन्द्रबाट आफ्नो समर्थनमा आएका र एमाले मै बस्न चाहानेका लागि सम्मानजनक व्यवस्थापन गर्ने रणनीतिमा जुटेको छ । अप्ठेरो समयमा पनि ओलीको साथ नछाडेकाले एमालेमा राम्रो व्यवस्थापन गर्ने तयारी स्वरुप निरन्तर वार्ता भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया