लक्ष्य प्राप्ति भएपछि धान खरिद कार्य बन्द

वीरगञ्ज । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरिद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी संघीय सरकारले तोकेको लक्ष्य प्राप्ति भएकोले फागुन २० गते दिउँसो १ बजेबाट धान खरिद गर्न बन्द गरिएको जानकारी गराएको सो कार्यालयका शाखा प्रमुख विकाश कटुवालले बताए ।

संघीय सरकारले चालु आर्थिक वर्षमा ३५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने लक्ष्य दिएकामा कार्यालयले तोकिएको अवधिभित्र १० करोड ९ लाख ७५ हजार मूल्य बराबरको ३५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गरी लक्ष्य भेट्टाएको छ । पाँच हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने लक्ष्य पाएकोमा ३ लाख ४१ हजार मूल्य बराबरको १ सय १८ क्विन्टल मात्र जिरामसिनो धान खरिद गर्न सकेको छ ।

यस क्षेत्रमा जिरामसिनो धानको खेती कम मात्रामा हुने गरेको तथा निजी जिल्ला व्यापारीभन्दा कम दररेटमा जिरामसिनो धान खरिद गर्ने भएकाले लक्ष्य प्राप्ति हुन नसकेको सो कार्यालयका सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए । कार्यालयले चालु आर्थिक वर्षमा सोना मन्सुली धान प्रतिक्विन्टल २ हजार ८ सय ८५ र जिरा मसिनो धान प्रतिक्विन्टल २ हजार ९ सयमा खरिद गरेको हो । अघिल्लो वर्षभन्दा यस वर्ष सोना मन्सुली धान खरिदको मूल्य आठ प्रतिशतले बढी भएको तर जिरामसिनो धान पाँच प्रतिशतले कम मूल्य निर्धारण गरिएको थियो ।

११ मंसिरबाट संस्थानले किसानबाट धान खरिद सुरु गरेपछि ३ महिना १० दिनभित्रै लक्ष्य प्राप्ति गरेको थियो । यसपालि करिब ८ सय ७ जना किसानले संस्थानलाई धान बेचेर आर्थिक लाभ लिन सफल भएको कार्यालयले जनाएको छ । एउटा किसानले औसत ४४ क्विन्टलसम्म धान बेचेका थिए । अघिल्लो आवमा संस्थानले सोना मन्सुली धान २५ हजार क्विन्टल र जिरामसिनो धान ३२ क्विन्टल खरिद गरेको थियो ।

खरिद गरिएको धान कुटानी गरी चामल बनाउने काम भइरहेको छ । यहाँबाट उत्पादित चामल वीरगञ्ज, रौतहट, भीमफेदी र चितवन कारागारमा लाने गरिन्छ भने बाँकी रहेको चामल नेपालको अन्य शाखा कार्यालयमा तथा कर्णाली प्रदेशसम्म जाने गरेको छ । कार्यालयले अचानक सूचना प्रकाशित गरी धान खरिद कार्य स्थगित गरे पनि फाटफुट रूपमा किसान धान बेच्न उक्त कार्यालयमा आउने गरेको भए पनि धान खरीद कार्य बन्द गरेपछि किसान निराश भएर घर फर्किन बाध्य भएका छन् ।

प्रतिक्रिया