प्रतिमाले ल्याइन् दुई कृति

काठमाडौं । अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति एकसाथ राजधानीमा सार्वजनिक गरिएको छ । उनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नयाँ गीति संग्रह ‘प्रेम प्रार्थना’ र गीति पुस्तक ‘अक्षर अनुराग’ सार्वजनिक गरेकी हुन् । कृतिको अग्रज गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र कवि विप्लव प्रतीकले विमोचन गरे ।

विमोचित गीति संग्रह ‘प्रेम प्रार्थना’ मा मेरो हजुर, प्रेम प्रार्थना, मिल्छ भने एउटा, सुनन, किस्ता किस्ता गरी पाँच वटा गीत रहेका छन् । यी सबै गीत प्रतिमाले लेखेकी हुन् । सबै गीतमा अनिल शाहीले संगीत भरेका छन् । यी गीतमा गायक स्वरुपराज आचार्य, इतु जोजिजु, बविता मानन्धर, अस्मिता परियारको आवाज रहेको छ । गीति संग्रहलाई मिडिया ल्यान्डले बजारमा ल्याएको हो ।

यसै एल्बमका तीन वटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । जसमध्ये प्रेम प्रार्थनामा धिरेन शाक्य र उषा खड्गीको अभिनय छ । यस्तै, किस्ता किस्ता…मा, संगीतकार अनिल र गायिका अस्मिताले अभिनय गरेका छन् । सुनन…गीतमा भने दिवश श्रेष्ठ, सब्बु शाहीको अभिनय छ । यस्तै, गीति पुस्तक अक्षर अनुरागमा आफूले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीत रहेको प्रतिमा श्रेष्ठले जानकारी दिइन् ।

प्रतिक्रिया