कानुनी रुपमा एमाले र माओवादी ब्युँतिए

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार तत्कालिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरिदिएको छ । निर्वाचन आयोगले संघीय संसद्लाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेजपछि साबिकका नेकपा एमाले र माओवादी केन्द्र नै कायम रहेको जानकारी दिएको छ ।

आयोगको मंगलबार बसेको बैठकले २३ फागुनको सर्वोच्च अदालतको आदेश बमोजिम नेकपाको दर्ता खारेजी भएर दुई दल एकीकरण पूर्वको अवस्थामा पुगेको जानकारी संघीय संसद्, सात वटै प्रदेश सभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई दिने निर्णय गरेको हो । ऋषिराम कट्टेलले आफूले नेतृत्व गरेको पार्टीको नाम एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको दललाई दिएको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्च अदालतले २३ फागुनमा फैसला गर्दै नेकपा नाम कट्टेल नेतृत्वको दललाई दिँदै एमाले र माओवादी केन्द्रलाई एकीकरण पूर्वको अवस्थामा पु¥याइदिएको थियो ।

उक्त फैसला कार्यान्वयन गर्न आयोगको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग दलका रूपमा कायम रहने जानकारी ती दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सर्वोच्च अदालतले दुई दल एकीकरण पूर्वको अवस्थामा फर्काइदिएपछि पुनः एकीकरण गर्न चाहेमा ‘कानून बमोजिम प्रक्रिया पूरा गरेर एकीकरण गर्न आउनू’ भन्ने सूचना दिन पनि निर्वाचन आयोगलाई आदेश दिएको थियो ।

त्यसै बमोजिम निर्वाचन आयोगले पुनः एकीकरण गर्ने भएमा नयाँ नाम र निर्वाचन चिह्नसहित १५ दिनभित्र निवेदन लिएर आउन भनेको छ । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा पार्टी दर्ता भएपछि निर्वाचन आयोगमा क्रमशः सन्ध्या तिवारी र गोपाल किराँतीको नाममा एमाले र माओवादी केन्द्र नामका पार्टी दर्ता थिए । अब ओली र दाहालले नेतृत्व गरेको एमाले र माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्किएपछि तिवारी र किराँतीको नाममा रहेका पार्टीहरूको नाम पनि खारेज भएको छ । निर्वाचन आयोगले तिवारी र किराँतीलाई नयाँ नाम र चिह्नसहित आयोगमा आउन पनि जानकारी गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया