१५ दिनदेखि दम्पती अझै बेपत्ता

जलेश्वर । ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झालाई सुतिरहेकै अवस्थामा यही फागुन १० गते राति घरैबाट अज्ञात समूहले बेपत्ता पारेकोमा अहिलेसम्म उनिहरुको कुनै अत्तोपत्तो लागेको छैन ।

घरमा दुई बुढाबूढी मात्रै सुतिरहेको अवस्थामा उनलाई बेपत्ता पारिएको हो भने उनको घरको ओछ्यान र चौकसमा रगतका छिटा देखिएकाले घटना रहस्मय भएको भन्दै प्रहरीले यही फागुन ११ गते बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको छ । घटनाको १५ दिन भइसक्दा पनि वृद्ध दम्पती नभेटेपछि घटना झनझन जटिल बन्दै गइरहेको बताइएको छ ।

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाका विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषाका समेत विभिन्न स्थानमा व्यापकरुपमा खोजतलास गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेको जनाएको छ ।

वृद्ध दम्पती एउटा मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेका कारण उनिहरुको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाले आँकलन गरिरहेका छन् । प्रहरीले उनिहरुको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म तीन दर्जनभन्दा बढी व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीका बारेमा कुनै पत्तो नलागेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया