ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसद उपिस्थत भएकाे दावी, गएनन यी सांसद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने- ‘हामी हतारिनुपर्ने केही छैन । सरकार ढल्दैन । तपाईंहरु ढुक्क हुनुहोस् ।’ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहको संसदीय दलको बैठक बसेको थियो। बैठकमा ११५ सांसद उपस्थित भएको ओली समूहका राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले दावी गरे ।

ओली समूहले पार्टी एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी हुने दावी गरेका थिए। तर शनिबारको बैठकमा नेता गौतमका साथै उनकी श्रीमती तुलसा थापा र नेता लालबाबु पण्डित पनि उपस्थित भएनन्।

उनीहरु शुक्रबार भएको दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा पनि उपस्थित भएका थिएनन् । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बेलुका वामदेव गौतमको निवास भैंसेपाटी पुगेका थिए । दाहाल–नेपाल समूहले शुक्रबार बसेको संसदीय दलको बैठकमा ११७ सांसद उपस्थित भएको दावी गरेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभा गरी नेकपाका २२२ सांसद छन् ।

प्रतिक्रिया