गोल, उपाधि र तथ्यांकमा मेस्सी र रोनाल्डो

लण्डन । बढी गोल गर्ने अनि बढी भन्दा बढी उपाधि जित्ने हरेक खेलाडीको चाहना नै हुन्छ । तर यो सबै खेलाडीले प्राप्त गर्न सक्दैनन् । यसैका लागि खेलाडीहरु आफ्नो जीवन नै खेलमा समर्पित गरिरहेका हुन्छन् । केही खेलाडीले मात्र आफुलाई दशकौसम्म सम्झाउने गरी इतिहासमा आफ्नो नाम लेखाउन सफल भएका छन् । ब्राजिली लेजेन्ड पेले, अर्जेन्टिनी स्वर्गिय डिएगो म्याराडोना, डच योहान क्रुएफ र स्पेनिस अल्फ्रेडो डि स्टेफानो विश्व फुटबलमा चिनिएका नाम हुन् । उनीहरुले आफ्नो समयमा विश्व फुटबलमा तहल्का नै मच्चाउन सफल भएका थिए ।

पछिल्लो एक दशक अर्जेन्टिनी तथा क्याटलान क्लब बार्सिलोनका फरवार्ड लियोनेल मेस्सी र पोर्चुगल तथा इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोमा को उत्कृष्ट भन्नेमा मत बाँझिरहेको छ । करियरको अन्त्यतिर रहँदा उनीहरु दुवैले यो एक दशक विश्व फुटबलमा एकछत्र राज गर्न सफल भएका छन् । अहिले पनि उनीहरुको प्रदर्शन कमजोर छैन । पछिल्लो एक दशकको १२ मध्ये ११ बालोन डि ओर यि दुई खेलाडीले जितेको आधारमा पनि उनीहरु आधुनिक फुटबलका उत्कृष्ट खेलाडी हुन भन्ने प्रमाणित गर्दछ । ३३ वर्षीय मेस्सीले ६ पटक तथा ३६ वर्षीय रोनाल्डोले पाँचपटक बालोन डि ओर जितेका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार यहाँ यी दुई खेलाडीको गोल, उपाधि र तथ्यांक केलाइएको छ ।

क्लब गोल
क्रिस्टियानो रोनाल्डोसँग मेस्सीभन्दा बढी गोल छन् । उनीहरु दुवैले व्यवसायिक खेल करियरमा ६ सय बढी गोल गरेका छन् । रोनाल्डोले ६ सय ६४ गोल गरेका छन् । मेस्सीले ६ सय ५६ गोल गरेका छन् ।

डबल्स, ह्याट्रिक, पोकर र पाँच गोल
फुटबलमा स्कोरिङ एक महत्वपुर्ण पक्ष हो । तर एक खेलमै एक भन्दा धेरै गोल गर्नु फरवार्डको अर्काे खुबी हो । क्लब खेलमा मेस्सीसँग रोनाल्डोभन्दा बढी ब्राकेट्स र ह्याट्रिकहरु रहेका छन् । यद्दपि एकै खेलमा चार भन्दा बढी गोल गर्नेमा रोनाल्डोले मेस्सीलाई उछिनेका छन् ।

अन्तर्राष्ट्रिय गोल
राष्ट्रिय टोलीबाट बढी गोल गर्नेमा रोनाल्डोले मेस्सीले धेरै पछि पारेका छन् । रोनाल्डोले पोर्चुगलका लागि १०२ अन्तर्राष्ट्रिय गोल गर्दा मेस्सीले अर्जेन्टिनाका लागि ७१ गोल गरेका छन् । रोनाल्डो अन्तर्राष्ट्रिय गोल गर्नेमा दोस्रो स्थानमा रहेका छन् । उनी इरानका अली दाई (१०९) भन्दा ७ गोलले मात्रै पछि छ ।

उपाधि
रोनाल्डोले क्लब र राष्ट्रिय टोलीबाट ३१ उपाधि जितेका छन् । पोर्चुगलबाट युरोकप र नेसन्स लिग जितेका रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडबाट ४ च्याम्पियन्स लिग, ३ फिफा क्लब विश्वकप, समान २ पटक ला लिगा, कोपा डेल रे, सुपर कोपा र युइएफए सुपरकप जितेका छन् ।

म्यानचेस्टर युनाइटेडबाट समान ३ प्रिमियर लिग, २ लिग कप र समान एकपटक एफए कप कम्युनिटी शिल्ड, च्याम्पियन्स लिग र फिफा क्लब विश्वकप जितेका छन् । स्पोर्टिङ लिस्वनबाट एक सुपरटाका र युभेन्टसबाट २ सिरी ‘ए’ जितेका छन् । व्यक्तिगत उपाधि पनि थुप्रै रहेका छन् ।

सिनियर राष्ट्रिय टोलीबाट एक उपाधि पनि जित्न नसकेका मेस्सीले क्लबबाट मात्रै ३३ उपाधि जितेका छन् । जसमा १० ला लिगा, ७ सुपरकोपा, ६ कोपा डेल रे, ४ च्याम्पियन्स लिग र समान ३–३ युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् । व्यक्तिगत उपाधि पनि थुप्रै रहेका छन् ।

प्रतिक्रिया