फेदीखोलामा पुल बन्ने खबरले स्थानीय खुसी

दमौली । तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटन र ऋषिङ गाउँपालिका–८ पल्ट्याङ जोड्ने फेदीखोलामा पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले फेदीखोलामा पक्की पुल निर्माण सुरु गरेपछि यहाँका स्थानीयवासी खुसी भएका छन् । हिउँदको समयमा सुकेपनि वर्षायाममा निकै ठूलो हुनेछ । ‘हिउँदमा सामान्य भए पनि वर्षायाममा खोला बढेर तर्न एकदमै सकस हुन्छ,’ तनहुँको भीमाद नगरपालिका–५ ऋषिङपाटनमा तुलबहादुर थापाले भने, ‘फेदीखोलामा पक्की पुल बन्ने भएपछि यहाँका स्थानीयवासीलाई अब सहज हुने भयो ।’ यही खोलाले बगाएर ०७५ जेठमा कक्षा सातमा अध्ययनरत एक बालकको मृत्यु भएको थियो ।

ऋषिङ गाउँपालिकाका विभिन्न वडाका सर्वसाधारणको प्रमुख व्यापारिक केन्द्र भीमाद बजार हो । उक्त गाउँपालिकाका सर्वसाधारण यही खोला तरेर भीमाद बजार आउने गर्छन् । ऋषिङको पल्ट्याङ, राम्जाकोट, कोटदरबार लगायतका ठाउँका सर्वसाधारण पनि सरसमान किन्न यही खोला तरेर आउनुपर्ने बाध्यता छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको ३ करोड ५८ लाख ३१ हजार ९ सय ८० को लागतमा फेदीखोलामा पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि ०७७ असार २६ गते चितवनस्थित केबिसी बिल्डर्स कम्पनी प्रालिसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । उनका अनुसार २५ मिटर लामो पुलको चौडाइ ८ दशमलव ४ मिटर रहनेछ । ६ मिटरमा गाडी गुड्ने र दायाँबायाँ १.४/१.४ को पेटी निर्माण हुनेछ । सो पुल ०७८ पुस २५ गतेसम्म सम्पन्न गर्ने म्याद छ । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ७५ लाख विनियोजन भएको छ ।

निर्माण कम्पनीका प्रतिनिधि कुमार आचार्यले राज्यले तोकेको मापदण्ड र प्राविधिकले दिएको निर्देशनअनुसार समयभित्रै पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘पुल निर्माण गर्ने समय आगामी वर्षको पुस अन्तिम सातासम्म भए पनि प्राविधिक कठिनाई नआए असार मसान्तभित्रै पुल निर्माण सम्पन्न गरिसक्छौँ,’ उनले भने । यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा नै शालिग्राम करिडोरअन्तर्गत घिरिङ गाउँपालिका–४ नयाँ टारस्थित तिरन्दीखोलामा पनि पक्की पुल निर्माण सुरु भएको छ । प्रदेशको गौरवको आयोजनाको रूपमा रहेको शालिग्राम करिडोरमा ३ करोड १४ लाख १ हजार २ सय ८२ को लागतमा पुल निर्माण सुरु भएको हो । पुल निर्माणका लागि ०७७ वैशाख २२ गते वाइएसएस निर्माण सेवा प्रालि सुर्खेतसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २५ मिटर लामो पुल ०७८ भदौ २९ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद छ । कोरोनाका कारणले पुल निर्माणमा ढिलाइ भए पनि अब तीव्र गतिमा काम सुरु गरिने कार्यालयका प्रमुख ढुंगानाले जानकारी दिए । कुल ८ दशमलव ४ मिटर चौडाइ रहने सो पुल निर्माणका लागि चालु आवमा ५५ लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया